कोरोनाको नयाँ भेरियन्ट : दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक
अखबार टुडे
प्रकाशित:
२०७८, १२ मंसिर

काठमाडौं, १२ मंसिर । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

आइतबार गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

कूटनीतिक, अफिसियल र आपतकालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको बताउँदै उनले भने, ‘यो निर्णय कार्यान्वयनका लागि अध्यागमन विभागले समेत आफू मातहतका अध्यागमन कार्यालयहरुलाई परिपत्र गरिसकेको छ ।’

दक्षिण अफ्रिकी मुलुकसँगै अन्य केही देशमा पनि ओमिक्रोन भेरियन्ट भेटिन थालेपछि छिमेकी मुलुक भारतले पनि यसको रोकथाम तथा नियन्त्रणका लागि उच्त सतर्कता अपनाउने निर्णय गरेको छ ।

यस्तै, इजरायलले पनि आफ्ना नागरिकलाई अफ्रिकी देशहरुको भ्रमणमा प्रतिबन्ध लगाएको छ । इजरायलले हालका लागि अफ्रिकी देशहरुको भ्रमणमा आफ्ना नागरिकहरुलाई रोक लगाएको जनाएको छ ।

बिहीबार इजरायलले सात ओटा अफ्रिकी देशलाई रातो सूचीमा राखेर ती देशको यात्रामा प्रतिबन्ध गरेकामाा शनिबार सबै अफ्रिकी देशमा नजान आफ्ना नागरिकमाथि प्रतिबन्ध लगाएको हो ।

त्यस्तै इजरायलले हाल करिब ५० ओटा अफ्रिकी देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई पनि स्वदेश फर्किन भनेको छ । इजरायलले भनेको छ कि आफ्ना नागरिकहरु ती अफ्रिकी देशमा रहेका भए कम्तीमा सात दिनभित्रमा स्वदेश फर्किन पनि भनेको छ ।

प्रतिक्रिया