‘१७ थरि शिक्षकका ३७ माग सम्बोधन हुने’
अखबार टुडे
प्रकाशित:
२०७८, १२ मंसिर

काठमाडौं, १२ मंसिर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि ३१ बुँदे शिक्षा सुधार योजना अघि सारेको जानकारी दिएका छन् ।

प्रेस सेन्टर बागलुङद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘हाम्रो जोड सार्वजनिक शिक्षालाई सुधार गर्ने निजीलाई सर्वसुलभ बनाउने भन्नेमा छ, १७ थरि शिक्षकका ३७ थरि माग सम्बोधनका लागि समिति गठन गरिएको छ’, । उनले शिक्षा क्षेत्रमा आमूल सुधार गर्दै अबको समय प्राविधिक युग भएकाले उच्चतम प्रयोग गरी महामारीमा समेत शैक्षिक सत्र खेर नजाने गरी पठनपाठन गर्ने सरकारको योजना रहेको बताए ।

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले शिक्षकका लागि शिक्षक अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढेको, त्रिचन्द्र क्याम्पस सुधार गर्न थालेको, दरबन्दी मिलान भइरहेको र पढ्दै कमाउँदै अभियानलाई अगाडि बढाएको जानकारी दिए । उनले सञ्चारकर्मीका जिज्ञासामा बालविकास सहजकर्ताहरूलाई केही पालिकाले सरकारले तोकेको तलब नदिएको गुनासोमा पालिकाले अनिवार्य दिनुपर्ने बताए ।

प्रतिक्रिया