‘वैकल्पिक शक्ति निर्माण गर्न सकेमात्रै देशले निकास पाउछ’
अखबार टुडे
प्रकाशित:
२०७८, १२ मंसिर

काठमाडौं, १२ मंसिर । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

जनता समाजवादी पार्टी रुपन्देहीले आज(आइतबार) बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले देशको समृद्धि र जनताको जीवन परिवर्तनका लागि वैकल्पिक शक्ति निर्माण गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै केन्द्रीय समाजवादी शक्ति निर्माण गर्न सकेमात्रै देशले निकास पाउनेमा जोड दिए ।

मुलुकमा आर्थिक, सामाजिक र सांस्कृति परिवर्तन हुन नसक्दा जनतामा निराशा र अन्योल छाएको उल्लेख गर्दै उनले राजनीतिक शक्तिबीचमा नयाँ ढङ्गले एकता कायम गरी अगाडि बढुनु नै उत्तम विकल्प हुने भनाइ राखे । ‘सामान्य लोकतान्त्रिक मूल्य, मान्यता स्खलित हुँदैछन्, सत्ता स्वार्थलाई केन्द्रमा राखेर राजनीति गर्ने काम भयो । यसरी देशले निकास पाउँदैन । अदालतमा देखिएको सङ्कट यसैको उदाहरण हो’, अध्यक्ष भट्टराईले भने ।

पुराना राजनीतिक शक्तिले आफ्ना डम्फु बजाउँदै हावाको बाल्कोनीमा बसेको टिप्पणी गर्दै उनले पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको बताए । अध्यक्ष भट्टराईले महान् क्रन्तिबाट आएका नेताहरूले नै बाटो बिराउँदा देश गलत दिशामा अघि बढेको जनाउँदै एकता र सार्वभौमसत्ता रक्षाका लागि नयाँ समाजवादको मोडल आवश्यक रहेकामा जोड दिए । ‘कांग्रेस जतिपटक सत्तामा पुगे पनि परिवर्तनको अपेक्षा गर्न सकिँदैन, मुलुक परिवर्तनका लागि अग्रगामी शक्ति आवश्यक छ’, उनले भने ।

प्रतिक्रिया