माओवादी केन्द्रको पालिका सम्मेलन सम्पन्न, धेरैजसो जिल्लामा सर्वसम्मत
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर

काठमाडौं, ११ मंसिर । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरेका थिए ।

अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन् । आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने उनले जानकारी दिए ।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा पनि उद्घाटनसत्र सम्पन्न भई नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ । माओवादीले पालिकास्तरीय सम्मेलनमा नेता, कार्यकर्ता र नागरिकको सक्रिय सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।
शनिबार दिनभर ललितपुरका विभिन्न पालिकाहरूको अधिवेशनमा सक्रिय रहनुभएका माओवादी नेत्री पम्फा भुसालले सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिए । उनले जनतामा समेत माओवादी नै खास पार्टीका रूपमा स्थापित भएको बताए ।

माओवादीले सकेसम्म सहमतिमा नेतृत्व चयन गर्न आग्रह गरेको थियो । धेरैजसो पालिकामा सोही विधिबाटै नेतृत्व चयन भएका छन् भने केहीमा निर्वाचन पनि भएका छन् । केन्द्रीय कार्यालयका सचिव ढकाल आफैँ पनि तनहुँका दुईवटा पालिकाको अधिवेशन सम्पन्न गर्न खटेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ धादिङको निलकण्ठ नगरपालिकाको सम्मेलनमा सहभागी भए । माओवादीका अधिकांश नेता तथा कार्यकर्ता आजको सम्मेलनमा सहभागी भएका थिए । भूमिसुधार सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठ मध्यपुर थिमि नगर समितिको सम्मेलनमा सहभागी भएका थिए ।

अर्थमन्त्री जनार्दन शर्मा गृहजिल्ला रुकुम पश्चिमका विभिन्न पालिकाहरूको सम्मेलनमा सहभागी भए । आठबीसकोट नगरपालिका र बाफिकोट गाउँपालिकाको सम्मेलनमा सहभागी हुनुभएका मन्त्री शर्माले माओवादीलाई एक नम्बरको पार्टी बनाएरै छाड्ने दृढता व्यक्त गरे ।
पार्टीलाई साङ्गठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो ।

उद्घाटनसत्रमा माओवादी अध्यक्ष प्रचण्डले जनताले भरोसा गर्ने क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता व्यक्त गरेका थिए । उनले विचार, सङ्गठन र कार्यशैलीमा समेत जनपक्षीय पार्टी बनाउने बताए ।

माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो । आज सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ । यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

प्रतिक्रिया