एमाले महाधिवेशन : नेतृत्व चयनमा सकस, सहमतिका लागि राष्ट्रपतिदेखि बरिष्ठ उपाध्यक्ष बनाउनेसम्म ओलीको प्रस्ताव
अखबार टुडे
प्रकाशित:
२०७८, ११ मंसिर

चितवन, ११ मंसिर । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरिरहेका छन् । पदाधिकारी चयनमा सकस भएपछि अध्यक्ष ओलीले आफ्ना टिमका नेताहरूलाई सहयोग गर्न समेत आग्रह गरेका छन् ।

सर्वसम्मत पदाधिकारी चयनका लागि छलफलमा जुटेकै कारण शनिबार बन्दसत्र समेत ढिलो गरी सुरु भएको छ । शनिबार १० बजे सुरु हुने भनिएको बन्दसत्र अपरान्ह ३ बजेमात्र सुरु भएको छ ।

बन्दसत्र सुरु हुनअघि अध्यक्ष ओलीले सर्वसम्मतका लागि नेताहरुसँग छलफल गरेका थिए । सोहीक्रममा ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने प्रलोभन दिएका छन् ।

शनिबार बिहान आफू बसेको होटलमै बोलएर ओलीले नेम्बाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गरेका हुन् । तर, त्यसबारे नेम्बाङले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

पदाधिकारीमा दावी गर्ने धेरै संख्या रहेकाले ओलीलाई सकस परेको हो । पदाधिकारी दावी गर्नेको संख्या बढेकाले शनिबार राती बसेको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीमा ३०१, पोलिटब्युरोमा ९९, स्थायी कमिटीमा ४५, पदाधिकारी (सचिवालय)मा १९ सदस्य हुने पुर्याउने निर्णय गरेको छ ।

तर, यसरी पदाधिकारी संख्या थपिँदा दावी गर्नेको संख्या पनि बढ्दै गएको छ । अध्यक्ष ओलीले सोक्रममा अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । महाधिवेशनमा सहभागी नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएकाले यसपटक सहयोग गर्न आग्रह गरेका छन् ।

यस्तै, अध्यक्षको दावी गर्दै उम्मेदवारी दिने घोषणा गरेका भीम रावललाई सहमतिमा आए बरिष्ठ उपाध्यक्ष दिन सकिने ओलीले प्रस्ताव गरेका छन् । तर, वर्तमान उपाध्यक्ष रहेका रावलले शनिबारबाटै प्रचार सुरु गरेका छन् ।

जसरी हुन्छ, सर्वसम्मतमै पदाधिकारी चयन हुनुपर्छ भन्ने अध्यक्ष ओलीको सोच छ । ओलीको सोचमा अधिकांश नेताहरु सहमति पनि छन् । त्यसैले अन्तिम अवस्थामा एमालेले यस १०औँ महाधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने सम्भावना प्रवल छ । अहिले बन्दसत्र भइरहेको छ । बन्दसत्रमा पनि अध्यक्ष ओलीले आफ्ना टिमलाई सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गर्दैछन् ।

प्रतिक्रिया