बन्दसत्रले मंसिर १३ गते कार्यकर्ताका लागि शुभ सन्देश लिएर आउनेछ : ओली
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूलाई सानातिना अन्तरविरोधमा नअल्झिन आग्रह गरेका छन् । आगामी कार्यकालका लागि नेतृत्व चयन गर्न र त्यसका लागि सबै नेताहरू एकताबद्ध भएर अगाडि बढ्न ओलीले आह्वान गरेका हुन् । यो महाधिवेशनबाट ओली पुनः अध्यक्ष बन्नेमा निश्चित छ ।

शुक्रबार चितवनको नारायणी नदी किनारमा गरिएको १०औंँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकताको धारणा लिएर अगाडि बढ्नुपर्ने बताए । उनले भने, ‘आपसमा सानातिना अन्तरविरोधमा नअल्झिएर राष्ट्र निर्माणको यस महान अभियानमा समझदारी, एकताबद्ध प्रयास, सक्रियताको आवश्यकता छ भन्ने बुझेर त्यस अनुसारको उचाइबाट काम गर्न आग्रह गर्दछु ।’

आफूहरूले सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदारी, एकता र लोकतान्त्रिक अभ्यासका साथ यस महाधिवेशन सम्पन्न गर्ने बताएको उनले स्मरण गरे । उनले भने, ‘सहमतिका साथ होस् अथवा लोकतन्त्रिक अभ्यास गरेर होस्, आजबाट सुरु गरेको महाधिवेशन भोलि बिहानबाट बन्दसत्र हुनेछ । पर्सिसम्म हामी अत्यन्त सौहार्दपूर्ण वातावरणमा उच्च स्तरको समझदारी, सहमति, एकता, लोकतन्त्रिक अभ्यासका साथ महाधिवेशनलाई सम्पन्न गर्नेछौं ।’

महाधिवेशनमा सर्वाधिक जनसहभागिता रहेको भन्दै ओलीले पार्टी कार्यकर्तामा उत्साह उत्पन्न भएको बताए । ‘बन्दसत्रमा अत्यन्त उत्साहका साथ एकताबद्ध ढंगले अर्को पाँच वर्षका लागि नेकपा एमालेलाई मात्रै होइन देशलाई नै दिशानिर्देशन गर्ने, देशलाई नै बाटो देखाउने, देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गरेर महाधिवेशनको हलबाट बाहिर आउनेछ ।’ एमाले महाधिवेशनको बन्दसत्रले १३ गते कार्यकर्ताका लागि शुभ सन्देश लिएर बाहिर आउने ओलीको भनाइ थियो ।

प्रतिक्रिया