मधेश आन्दोलनका उपलब्धिलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारियो: उपेन्द्र यादव
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताएका छन् ।

बिहीबार चितवन भरतपुरमा जारी एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा यादवको जोड दिए ।

उनले भने, ‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ । जनआन्दोलन, मधेश आन्दोलनका उपलब्धिहरूलाई जालझेल र षडयन्त्र गरी ओझेलमा पारिएको छ ।’

नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राष्ट्रिय पार्टीका नेताले शुभकामना दिने क्रम जारी छ । नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेपछि शुभकामनाको क्रम सुरु भएको हो ।

सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी छन् । केहीबेरअघि अध्यक्ष ओलीले राष्ट्रिय झण्डा, पार्टीको निर्वाचन चिह्न (सूर्य) र कम्युनिष्ट पार्टीको हँसिया हथौडा अङ्कित झण्डा फहराएर महाधिवेशन उद्घाटन गरेका थिए । उद्घाटन हुनुअघि जातजातिगत सांस्कृतिक कला, धून र झाँकी प्रदर्शन गरिएको थियो । सभामा विभिन्न स्थानबाट ¥यालीसहितको जनसहभागिता बढिरहेको छ ।

प्रतिक्रिया