मौसम सफा हुन अझै केही दिन लाग्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर । पछिल्लो केही दिनयता नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने भएको छ ।

स्थानीय वायुको प्रभावका कारण देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । स्थानीय वायुको प्रभावसँगै वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा तुवाँलो लागेको विभागका मौसमविद् मञ्जु बासीले बताए । ‘अहिलेको अवस्थालाई हेर्दा मौसम तत्काल सफा हुने देखिएको छैन’, मौसमविद् बासीले भने ।

मौसम सफा हुनका लागि वर्षा हुनुपर्छ वा तीव्र वेगले वायु चल्नुपर्छ । सो अवस्था नदेखिएकाले मौसममा सुधार हुने सम्भावना नदेखिएको बताइएको छ । हाल प्रदेश नं १, वाग्मती, गण्डकी र पहाडी भूभागमा आंशिदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

भोलि प्रदेश नं १, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया