एमाले महाधिवेशनको असर काठमाडौंसम्म, जाम हुँदा थानकोटमा गाडी ‘होल्ड’
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर । चितवनमा सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशनको असर काठमाडौंसम्मै देखिएको छ । महाधिवेशनका लागि सवारीसाधनको चाप बढ्दा सडकमा जाम भएको छ ।

काठमाण्डौ प्रवेश गर्ने मुख्य राजमार्ग धादिङको खानीखोला लगायतका ठाउँमा बिहानैदेखि गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ । गाडीको चाप बढेपछि प्रहरीले काठमाण्डौको थानकोटमा गाडी ‘होल्ड’ गरेको छ । महाधिवेशनमा जाने र निजी गाडीलाई पास गराए पनि ठूला गाडीलाई होल्ड गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । जाम खुलेपछि होल्ड गरेर राखिएका गाडी पठाइने ट्राफिक प्रहरीले जनाएको छ ।

एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रममा पाँच लाख जना सहभागी हुने दाबी गर्दै आएको छ । एमालेले महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्नका लागि अरू पार्टीलाई पनि निम्तो दिएको छ । महाधिवेशनमा निम्तो नपाएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सर्वोच्च नेता झलनाथ खनाल देखिने छैनन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन सम्बोधन गर्ने छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा जाने छैन्न । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू भने महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्न अध्यक्ष ठाकुर बिहीबार नै चितवन पुगिसकेका छन् ।

प्रतिक्रिया