ताइवान मुद्दामा अमेरिकासँग कुनै सम्झौता हुँदैन: चीन
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर (एजेन्सी) । ताइवानका सम्बन्धमा कुनै सम्झौता नहुने चिनियाँ रक्षामन्त्रालयले बिहीबार प्रस्ट पारेको छ । यस विषयमा अमेरिकाले कुनै भ्रम पाल्न नहुने मन्त्रालयले बताएको छ ।

चीनले अमेरिकामाथि पछिल्लो समय विभिन्न विषय उक्साइरहेको आरोप पनि लगाएको छ । ‘विशेष गरी ताइवानको मुद्दामा चीनले सम्झौता गर्दैन र अमेरिकाले यसबारे कुनै भ्रम पाल्नु हुँदैन’, चिनियाँ रक्षामन्त्रालयका प्रवक्ता वु छिङले भने । अन्य विषयमा भने अमेरिकासँग वार्ता तथा सहकार्य गर्न चीन तयार रहेको उनको भनाइ थियो ।’ तर, अमेरिकी पक्षले कैयौं गैर जिम्मेवारीपूर्ण कुरा भनिरहेको र नजिकै आएर युद्धपोत एवं विमानमार्फत् निगरानी गर्दै ताइवान तथा दक्षिण चिनियाँ सागरमा उक्साहटपूर्ण व्यवहार देखाएको छ’, छिङले थपे ।

यसै महिना अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भर्चुअल बैठकमा सीले ताइवानको स्वतन्त्रता चाहने र अमेरिकामा उनीहरूलाई समर्थन गर्नेहरू आगोसँग खेलिरहेको बताएका थिए ।

चीन र ताइवानबीच दशकौंदेखि तनाव छ । १९४० को दशकमा भएको गृहयुद्धका बेला चीनबाट ताइवान अलग भएको थियो । ताइवानले आफूलाई स्वतन्त्र देश मान्ने गरे पनि चीनले यसलाई आफ्नो स्वायत्त प्रान्तका रुपमा हेर्छ ।ताइवानको आफ्नै संविधान, लोकतान्त्रिक रुपले चुनिएका नेता र झन्डै तीन लाख सक्रिय सैनिक छन् ।

ताइवानलाई केही देशले मात्रै मान्यता दिएका छन् । अमेरिकाले पनि ताइवानसँग आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध राख्दैन । तर, ताइवान रिलेसक्स एक्टअन्तर्गत उसले हतियार बेच्छ । अमेरिकाले ताइवानको आत्मरक्षाका लागि आवश्यक सहयोग दिने विषय यस एक्टमा उल्लेख छ । पछिल्लो समय चीन र ताइवानबीच एकपटक फेरि गहिरो तनाव देखिएको छ ।

प्रतिक्रिया