जनगणना सङ्कलन कार्य सकियो, कालापानी र लिम्पियाधुरा छुटे
अखबार टुडे
प्रकाशित:
२०७८, १० मंसिर

काठमाडौं, १० मंसिर । कालापानी र लिम्पियाधुराबाहेकका ठाउँका केही स्थानमा बाहेक देशका अन्य क्षेत्रमा जनगणना सङ्कलन कार्य सकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले गएको कात्तिक २५ गतेदेखि सुरु गरेको जनगणना सङ्कलन कार्य तोकिएकै समयमा सकिएको हो । विशेष कारणवश गणनामा सहभागी हुन छुटेको भए ११७८ नम्बरमा फोन गरेर तथ्याङ्क टिपाउन केन्द्रीय तथ्याङ्क विभागले आग्रह गरेको छ । विभागका अनुसार मंसिर मसान्तसम्ममा सबै जिल्लाबाट जनगणनासहितको विवरण भरिएको प्रश्नावली केन्द्रमा ल्याइने छ ।

विभागले देशभर गणक र सुपरिवेक्षक परिचालन गरी जनगणना सुरु गरेको थियो । लिपुलेक क्षेत्रका छाङरू र तिङ्कर गाउँको पनि जनगणना भएको छ । भारतले उसको भूमि हुँदै त्यहाँ जान नदिए पछि गणकहरु जोखियुक्त नेपाली बाटो हुँदै त्यहाँ पुगेका थिए ।

सडक सञ्जाल अप्ठ्यारो र सुरक्षाको हिसाबले जोखिमपूर्ण भएकाले विभागले उनीहरुलाई हिजो हेलिकप्टरमार्फत त्यहाँबाट फर्काएको रेग्मीले जानकारी दिए । कालापानी र लिम्पियाधुरा क्षेत्रका नाभिडाङ, गुन्जी, नाभी, कुटीलगायत गाउँको जनगणना भएको छैन् । सो स्थानमा भारतीय सुरक्षाकर्मी तैनाथ गरिएका कारण त्यहाँ गणकलाई पठाउन जोखिम भएको हो ।

प्रतिक्रिया