इङ्ग्लिश च्यानलमा आप्रवासी चढेको डुङ्गा डुब्दा कम्तीमा २७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

काठमाडौं, ९ मंसिर । बेलायत प्रवेश गर्न खोजेका ३४ आप्रवासीहरू बोकेको एउटा डुङ्गा फ्रान्सको क्यालेनजिकै इङ्ग्लिश च्यानलमा डुब्दा कम्तीमा २७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय आप्रवासन सङ्घ आईओएमका अनुसार उक्त दुर्घटना सन् २०१४ यताकै इङ्ग्लिश च्यानलमा भएको सबैभन्दा घातक हो ।

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानँले मृत्यु हुने मानिसमध्ये पाँच महिला र एक बालिका रहेका बताएका छन् । उनका अनुसार दुई जनाको उद्धार गरिएको र एक जना अझै हराइरहेको बताएका छन् । बुधवार बेलुकी ३१ जनाको मृत्यु भएको भनिए पनि पछि त्यो सच्याइएको थियो । फ्रानसेली अधिकारीका अनुसार बेल्जियमको सीमानजिकै चार व्यक्तिलाई गिरफ्तार गरिएको र उनीहरू मानव तस्करीमा संलग्न भएको हुनसक्ने बताएका छन् ।

यूकेका प्रधानमन्त्री बोरिस जोनसनले घटनाबाट आफू ‘उद्विग्न’ भएको भन्दै यूकेले मानवतस्करहरूलाई रोक्न कुनै कसर बाँकी नराख्ने बताएका छन् । बेलायतको प्रधानमन्त्री कार्यालयले बुधवार बेलुकी जोनसन र फ्रान्सका राष्ट्रपति एमानुएल मार्कोँले दुई देशबीचको जलमार्गबाट हुने तस्करी रोक्न र मानवतस्कर समूहहरूलाई मानव जीवन जोखिममा पार्नबाट रोक्न संयुक्त रूपमा कार्य गर्न सहमति गरेकोे जनाएको छ ।

हालैका दिनमा च्यानलबाट जोखिमपूर्ण यात्रा गरेर फ्रान्सबाट यूके आउने आप्रवासीको सङ्ख्या ह्वात्तै बढेको छ । यो वर्ष २५,७०० जना भन्दा धेरै व्यक्ति त्यसरी यूके आइपुगेका छन् जुन सन् २०२० को भन्दा तीनगुना बढी हो ।

प्रतिक्रिया