हेर्नुस् तस्बिरमा सिँगो नेपाल !
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

काठमाडौं, ९ मंसिर । नेपाल प्रज्ञा–प्रतिष्ठानले सिँगो नेपाललाई तस्बिरमा हेर्न सकिने सामग्रीका रूपमा ‘तस्बिरमा नेपाल’ नामक कृति प्रकाशन गरेको छ ।

पछिल्लो समयमा ऐतिहासिक महत्त्वका गुणात्मक मूल्य राख्ने नयाँ तथा पुराना कृतिहरूको लगातार प्रकाशन गर्दै आएको प्रज्ञा–प्रतिष्ठानले यस पटक भने नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका र हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई एउटै कृतिमा समेटेर प्रकाशन गरेको छ ।

फोटो पत्रकार भरतबन्धु थापाले कतै स्थलगत रूपमा उपस्थित भएर त कतै हवाई साधनको प्रयोग गरी आफैँले खिचेका नेपालको भौगोलिक सुन्दरता, पुरातात्त्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्त्व राख्ने ५०० भन्दा बढी रङ्गीन तस्बिरहरू यस कृतिमा समेटिएका छन् ।

नेपालको प्रदेश नं. एकदेखि सुदूरपश्चिम प्रदेशसम्मका सात प्रदेशलाई सात खण्डमा विभाजन गरी तिनलाई चिनाउने दृश्यसामग्रीहरूलाई अलग अलग रूपमा प्रस्तुत गरिएको यो कृति फोटो पत्रकारिताका दृष्टिले त ऐतिहासिक छ नै आजसम्म प्रकाशित नेपाल चिनाउने सामग्रीहरूमध्येमा पनि सर्वाधिक उपयोगी देखिएको छ ।

नेपालका सातओटै प्रदेशका भूगोल र प्रकृतिका साथै त्यहाँ बस्ने जाति र तिनका भाषा, संस्कृति, इतिहास, समाज, मूर्त-अमूर्त कला, साहित्य, धर्म, परम्परा, सभ्यता, ज्ञान–विज्ञान, अर्थतन्त्र, व्यवसाय÷पेसा आदि पक्षको स्थलगत अवलोकनसहितको तस्बिर समेटिएको छ ।

‘तस्बिरमा नेपाल’ कृतिमा तस्बिरैतस्बिरबाट नेपाललाई देखाइएको हुनाले यो सबै उमेरसमूहका लागि रोचक, मनोरञ्जक र ज्ञानवद्र्धक रहेको र यसबाट चित्र हेरेर मनोरञ्जन गर्न चाहनेले पूर्ण मनोरञ्जन गर्न सक्ने, नेपालको विविधतापूर्ण परिवेशका बारेमा जान्न चाहनेले ज्ञान प्राप्त गर्ने र नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, पुरातात्त्विक विषयमा गहिरो अनुसन्धान गर्न चाहनेले पनि महत्त्वपूर्ण सूचनाहरू प्राप्त गर्न सक्ने कुराको जानकारी प्राज्ञ डा. देवी नेपालले दिए ।

३२० पृष्ठ र २०७० मूल्य रहेको एफोर साइजमा सम्पूर्ण रङ्गीन कलेवरमा छापिएको प्रस्तुत कृति नेपाल प्रज्ञा–प्रतिष्ठानको विक्रीकक्षमा र अधिकृत विक्रेतामार्फत देशभरका पुस्तक पसलहरूमा प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया