कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

काठमाडौँं, ९ मंसिर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आसन्न १४ औँ महाधिवेशनमा पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा उनले भने, ‘विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली कांग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरुलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।’

काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् । तर, अहिलेसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गर्ने गुरुङले मात्र गरेका थिए ।

नेता निधिले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमतका साथ विजयी गराउने र कांग्रेसमा पुस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने बाचा निधिले गरेका छन् । पुस्तान्तरणलाई सहज बनाउन पार्टीका कुनै पनि एउटै तहमा वा पदमा दुई पटक भन्दा बढी निर्वाचित वा मनोनित नहुने व्यवस्था गर्न पार्टीको विधान संशोधन गर्ने निधिले बताएका छन् । साथै संविधान संशोधनको विषय पार्टीको आधिकारिक निर्णय अनुसार कार्यान्वयन गराउने र गणतन्त्रलाई संस्थागत गर्ने बाचासमेत उनले गरेका छन् । आफ्ना बाचाहरुलाई पाँच वर्षभित्र पूरा गर्ने घोषणासमेत निधिले गरे ।

सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेको घोषणापत्र बनाएका छन् । सभापतिको उम्मेदवारका लागि तयार पारेको घोषणापत्रमा परिकल्पना, उद्देश्य, ध्येय, र अन्य सुधारहरू शीर्ष राखिएको छ ।

प्रतिक्रिया