एमालेको १०औँ महाधिवेशन: १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ९ मंसिर

चितवन, ९ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनको सुरक्षामा एआईजी सहकुल थापा, डीआईजी प्रकाशजङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा १५ सयभन्दा बढी सुरक्षाकर्मी खटाइने भएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग गरी १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् ।

महाधिवेशनको विशेष सुरक्षाका लागि नेपाल प्रहरीका आठ सय, सशस्त्र प्रहरीको ४५० तथा राष्ट्रिय अनुसन्धानको ९० जना सुरक्षाकर्मी परिचालन हुने छन् । त्यस्तै चितवनसँग सिमाना जोडिएको नवलपुरको गैँडाकोटबाट नेपाल प्रहरीका सयभन्दा बढी सुरक्षाकर्मी खटिने छन् । महाधिवेशन उद्घाटन हुने ठाउँ र बन्दसत्रको सुरक्षा मजबुत बनाउन लागि सुरक्षाकर्मी परिचालन गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समिति संयोजक अस्मान तामाङले जानकारी दिए ।

महाधिवेशन स्थलमा आवतजावतलाई सहज बनाउनका लागि आसपासका १३ ठाउँमा गाडी पार्किङस्थल तयार गरिएको छ । महाधिवेशन उद्घाटन हुने मङ्सिर १० गते बिहान १० बजेदेखि जिल्ला प्रशासन कार्यालयबाट चितवनको पश्चिमतर्फलगायत महाधिवेशन उद्घाटनस्थल क्षेत्रमा अत्यावश्यक बाहेकका गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ । महाधिवेशन उद्घाटन स्थलमा भीडभाड कम गर्न आसपासका क्षेत्रमा मङ्सिर ९ गते रातिदेखि नै पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडक खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइने जनाइएको छ ।

महाधिवेशन उद्घाटन समारोह चलिरहेको समयमा पश्चिमतर्फबाट आउने गाडीलाई गैँडाकोटमा रोकिने भएको छ । आवतजावतलाई सहज बनाउन मुग्लिङ–नारायणघाट सडक खण्डमा ट्राफिक प्रहरीको सङ्ख्या बढाइने भएको छ । भीआईपी बस्ने ठाउँ र महाधिवेशन स्थललाई विशेष निगरानीमा राखिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओम अधिकारीले जानकारी दिए । महाधिवेशन स्थलमा सादा पोसाकका र राष्ट्रिय अनुसन्धानका प्रहरीहरु परिचालन हुनेछन् । नेकपा एमालेको महाधिवेशन भोलिदेखी सुरुभई १२ गते सम्पन्न हुने छ ।

प्रतिक्रिया