गुफामा लुकाएको पाँच करोड ब्यारेल तेल झिक्न बाइडेनको आदेश
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

काठमाडौं, ८ मंसिर । विश्वभर पेट्रोलियम पदार्थको बढ्दो मूल्य नियन्त्रण गर्न भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले देशको रणनीतिक तेल भण्डारबाट पाँच करोड ब्यारेल कच्चा तेल निकाल्न आदेश दिएका छन् ।

तरल इन्धन अत्यधिक खपत गर्ने चीन, भारत, बेलायत, जापान र दक्षिण कोरियालगायत मुलुकसँग छलफल गरी बाइडेनले विशाल नुनिलो गुफामा अमेरिकाले लुकाइरहेकोमध्ये उल्लेखित परिमाणमा तेल निकाल्न मंगलबार आदेश दिएको समाचार संस्था सीएनएन जनाएको छ ।

अमेरिकी बजारमै कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.६५ अमेरिकी डलर पुगेको छ । आयातमा निर्भर र इन्धन आपूर्तिमा ठूलो रकम खर्च गर्ने मुलुकहरूमा व्यापार घाटा चुलिइरहेको छ । आगामी डिसेम्बर १५ भित्र पाँच करोड ब्यारेल तेल निकालेर तरल इन्धनमा भएको मूल्यवृद्धि नियन्त्रण गरिने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले जानकारी दिएको सीएनएनले जनाएको. छ ।

खाडी राष्ट्रहरूले तेल आपूर्ति बन्द गरेपछि अमेरिकाले सन् १९७५ मा सो विशाल तेल भण्डार खडा गरेको थियो । टेक्सस र लुजियाना राज्यबीच बनाइएका विशाल भूमिगत गुफाहरूमा अमेरिकाले ७० करोड ब्यारेल कच्चा तेल भण्डारण गरेको अनुमान छ । अमेरिकाले बनाएका ती गुफा संसारकै ठूला आपत्तकालिन इन्धन भण्डारणगृह हुन् ।

त्यसैको प्रतिशोधस्वरूप खाडी मुलुकहरू इराक, कुवेत, कतार र साउदी अरबले अमेरिकामा तेल निर्यात बन्द गरेका थिए । त्यतिखेर अमेरिकामा प्रतिब्यारेल तीन डलर रहेको तेलको मूल्य चार गुणा बढेर १२ डलर प्रतिब्यारेल पुगेको थियो । विशाल नुनिला गुफामा तेल भण्डारण गर्न अमेरिकी संसदले ऊर्जा नीति र संरक्षण कानून नै जारी गरेको थियो । अन्तरराष्ट्रिय ऊर्जा केन्द्र (आईईसी)ले पनि सदस्य राष्ट्रहरूलाई ९० दिनसम्म पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न अनुमति दिएको थियो ।

टेक्सासको फ्रिपोर्ट र विन्नी तथा लुजियानाका लेक चाल्र्स र बेटनरोगमा गरी अमेरिकाले चारवटा इन्धन गुफा बनाएको छ । जमिनको सतहभन्दा करिब एक किलोमिटर तलसम्म विस्तार गरिएका ती चारवटै गुफा मानवनिर्मित हुन् । तेल भण्डारण गर्न ती गुफामा अमेरिकाले सुरक्षित ट्यांकीहरू नै बनाएको छ । भौगर्भिक चाप र नुनको मिश्रणका कारण भूमिगत भण्डारण गरिएका तेल चुहिने सम्भावना निकै कम हुन्छ ।

भण्डारण गरिएको तेल अमेरिकाले प्राकृतिक विपत्ति, महामारी र राष्ट्रिय सुरक्षा संकट निम्तिएका बेला प्रयोग गर्ने गरेको छ । सन् २०१९ मा साउदी अरेबियाका मुख्य प्रशोधनस्थलमा हमला हुँदा पनि अमेरिकाले सो आपत्तकालीन भण्डारमा लुकाएको तेल प्रयोग गरेको थियो । त्यतिखेर राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भण्डारण गुफाहरूमा ६४ करोड ब्यारेल कच्चा तेल रहेको तथ्यांक सार्वजनिक गरेका थिए ।

ती गुफाबाट तेल निकाल्न अमेरिकी राष्ट्रपतिले नै आदेश दिनुपर्छ । राष्ट्रपतिले आदेश दिएपछि गुफाबाट तेल निकालिएको तेल बजारमा पुग्न कम्तिमा दुईसाता लाग्छ । गुफाबाट निकालेपछि तेल प्रशोधन गरिन्छ र त्यसपछि उपभोग निम्ति पठाइन्छ ।

प्रतिक्रिया