नेपाल खबर

‘मेचीदेखि महाकालीसम्म पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ’: अध्यक्ष नेपाल

जनकपुर, ८ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन् ।

धनुषाको जनकपुरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताएका हुन् ।

अध्यक्ष नेपालले हाम्रो पार्टी दक्षिणपन्थी भासमा भासिएको छैन्, क्रान्तिकारी सोचका साथअघि बढ्ेको बताए । ‘पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ’, उनले भने, ‘सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ । प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।’

अध्यक्ष नेपालले एमालेको सूर्य चिह्नमा ग्रहण लागेकाले ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताए । उनले आफ्नो पार्टीको चुनाव चिह्न कलम चम्किरहेको बताउदै नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गरे । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गरे । यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उनले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

अध्यक्ष नेपालले बुधबार जनकपुरधाम उपमहानगरपालिका–१ किशोरी नगरमा नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका थिए । सो अवसरमा उनले विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई माला, अबिर लगाएर पार्टी प्रवेश गराए ।

Click to comment
To Top