आफ्नै पार्टीबाट प्रदेश २का मुख्यमन्त्रीको राजीनामा माग
अखबार टुडे
प्रकाशित:
२०७८, ८ मंसिर

काठमाडौं, ८ मंसिर । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै पार्टीबाट प्रदेश २मा मुख्यमन्त्री बनेका लालबाबु राउतको राजीनामा माग गरेका छन् । जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा समिति कै सदस्यले राउतको राजीनामा माग गरेएका हुन् ।

पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो । प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरिएको गुनासो गरे ।

बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेताले समेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतको दाबी छ । उनीहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए । बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पु¥याउन संख्या थप गर्न लागिएको हो । कार्यकारिणी समितिमा १६ जना थप गर्नुपर्ने भए पनि हाललाई १२ जनामात्र थप गर्ने निर्णय भएको एक नेताले बताए ।

प्रतिक्रिया