अफगानिस्तानमा महिलालाई विदेशी टेलिफिल्म हेर्न र अभिनय गर्न प्रतिबन्ध
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ६ मंसिर । तालिवान सरकारले अफगानिस्तानमा महिलालाई टेलिभिजनमा प्रसारण हुने कार्यक्रममा अभिनय गर्न प्रतिबन्ध लगाउनेलगायतका नयाँ नियमहरू लागू गरेको छ । तालिबानले महिला पत्रकार र कार्यक्रम प्रस्तोतालाई समेत टाउको ढाक्न निर्देशन दिएको छ ।

बिबिसीले उल्लेख गरेअनुसार पत्रकारहरूले केही नियमहरू अस्पष्ट रहेको र त्यसलाई जसरी पनि व्याख्या गर्न सकिने बताएका छन् । यही गएको अगस्टमा देशको सत्ता आफ्नो हातमा लिएपछि तालिबानले बिस्तारै कडा नियमहरू लागू गर्दै गइरहेको छ ।

अमेरिकी सेनाको बहिर्गमनपछि सत्ता नियन्त्रणमा लिनेबित्तिकै तालिबानले महिलालाई विद्यालय नगई घरमै रहन आदेश दिएको थियो । सन् १९९० को दशकमा तालिबानले सत्ता सञ्चालन गर्दा महिलालाई शिक्षामा र काम गर्न प्रतिबन्ध लगाएको थियो ।

यस्तै, अहिले आएर पुनः सत्तामा आएपछि तालिबान सरकारले कडा नियमहरु लागू गर्दै गएको छ । अफगानिस्तानका टेलिभिजन च्यानलहरूलाई दिइएको नयाँ निर्देशिकामा आठवटा नियमहरू छन् ।

बिबिसीले जनाएका अनुसार ती नियममा इस्लाम वा शरिया कानुन एवं अफगान मूल्यमान्यताविपरीतका चलचित्रदेखि पुरुषका गुप्ताङ देखाउन नपाइनेसम्मका छन् ।

धर्मलाई अपमान गर्ने कुराहरू वा अफगानका लागि आपत्तिजनक कुरा भएका हास्य र मनोरञ्जनात्मक सामग्री पनि देखाउन नपाइने नियम बनाइएको छ । तालिबानले विदेशी मूल्यमान्यता प्रचार गर्ने विदेशी चलचित्रहरू देखाउन नपाइने बताउँदै आएको छ ।

अफगान टेलिभिजन च्यानलहरूमा महिलाप्रधान विदेशी टेलिशृँखला प्रसारण हुँदै आएका थिए । अफगानिस्तानका पत्रकारहरूको एक संस्थाका सदस्य हुजातुल्लाह मुजाद्देदीले नयाँ नियमहरू अनपेक्षित भएको बताएका छन् ।

बीबीसीलाई उनले नयाँ नियमहरू व्यवहारिक नभएको र ती लागु भएका टेलिभिजन च्यानलहरू बन्द हुन सक्ने बताएका छन् । तालिबानको महिलाहरूलाई विद्यालयबाट बाहिरै राख्ने निर्णयले अफगानिस्तानलाई आधा जनसंख्या शिक्षाबाट वञ्चित भएको विश्वको एकमात्र देश बनाएको छ ।

राजधानी काबुलका नगरप्रमुखले नगरपालिकाका महिला कर्मचारीलाई आफ्नो काम पुरुषले गर्न नसक्ने भएमात्र कार्यालय आउन, नत्र घरै बस्न आदेश दिएका छन् ।

तालिबानले महिलामाथि शिक्षा र रोजगारीमा लगाइएको प्रतिबन्ध अस्थायी भएको र त्यो विद्यालय एवं कार्यक्षेत्रहरू उनीहरूका लागि सुरक्षित बनाउनका लागिमात्रै लागु गरिएको बताउँदै आएका छन् ।

प्रतिक्रिया