सञ्चय कोषको सूचना : ३५ दिनभित्र ऋण नतिरे सिभिल मल लिलाम हुने
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ५ मंसिर । कर्मचारी सञ्चय कोषले व्यवसायी इच्छाराज तामाङको स्वामित्वमा रहेको सिभिल स्टेट्स प्रालिलाई ऋण तिर्न आउन ३५ दिने सूचना जारी गरेको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै कोषले सुन्धारास्थित सिभिल मल धितोमा राखेर लिइएको ऋण तिर्न ताकेता गरेको हो ।

सिभिल गु्रपका अध्यक्ष तामाङविरुद्धको ठगीको आरोपमा अनुसन्धान भइरहेको बेला छ । यसैबेला सञ्चय कोषले ऋणि तिर्न सूचना जारी गरेको हो । सुन्धारास्थित ६ रोपनी जग्गामा रहेको सिभिल मलको सञ्चालकमा इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया छन् । ८२ हजार ९५ वर्गफिटको यो मलमा १३२ पसल कबल उपलब्ध छन् ।

मल धितोमा राखेर ऋण लिँदा तामाङ, श्रेष्ठ र मुखियासहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहरप्रसाद लामिछाने, प्रविणप्रसाद प्रधान र सुमन नन्दन वैद्य जमानीकर्ताका रुपमा छन् । नियमित रूपमा सावाँ र ब्याज नतिरेपछि सूचना निकालिएको कोष स्रोतले जनएको छ ।

नेकपा एमालेका पूर्व सांसदसमेत रहेका तामाङलाई सिभिल ग्रुपबाटबाट ठगी भएको भन्दै केही समयअघि सिआइबीले पक्राउ गरेको थियो । यसै प्रकरणमा सीआईबीमा १४ सय ४१ जनाको उजुरी परेको छ ।

प्रहरीले नेकपा एमालेका पूर्वसांसद समेत रहेका तामाङसहित अन्य १२ जनालाई थुनामा राखेको छ । हालसम्म तामाङसहित १२ जनाविरुद्ध ५ अर्ब ५३ करोड रुपैयाँभन्दा बढीको ठगी गरेको उजुरी परेको हो ।

प्रतिक्रिया