चिया निर्यातमा भारतको अवरोध,एक हप्तादेखि ठप्प
अखबार टुडे
प्रकाशित:
२०७८, ६ मंसिर

काठमाडौं, ६ मंसिर । भारतको टि बोर्डले नेपाली चियाको गुणस्तर कमजोर भएको आरोप लगाउँदै नेपालमा उत्पादन हुने हरियो चिया निर्यातलाई एक हप्तादेखि रोक लगाएको छ ।

नेपाल चिया उत्पादक सङ्घका अनुसार टि बोर्डले विना आधार नेपाली चिया गुणस्तरहीन भएको आरोप लगाएका कारण निर्यात ठप्प भएको छ । निर्यात ठप्प हुँदा भारत पठाउन लागिएको १५ हजार किलो चिया झापाको काँकडभिट्टाको भन्सार कार्यलयमा नै रोकिएको चिया उद्यमी ग्रीनहील टि इन्डस्ट्री प्रालिका प्रोप्राइटर टङ्क दाहालले बताए ।

एक हप्ताअघि झापाको पानी ट्याङ्कीमा रहेको भन्सारमा लैजाँदै गरेको दुई गाडी चिया रोकिएपछि निर्यात ठप्प भएको चिया तथा कफी विकास बोर्ड फिक्कलका इन्द्र अधिकारीले जानकारी दिए । उनका अनुसार निर्यात खुलाउन काठमाण्डौमा रहेको भारतीय दूतावास र कोलकातामा रहेको नेपाली महावाणिज्यदूतको कार्यलयमा हिजो पत्र पठाइसकिएको छ । यसबारे दुई देशबीच छलफल सुरु भएको र भोलिसम्ममा यस विषयको टुङ्गो लाग्ने उनले जानकारी दिए ।

नेपालमा वार्षिक करिब दुई करोड किलो सीटीसी चिया र करिब ७० लाख किलो अर्थोडक्स चिया उत्पादन हुने सरकारी तथ्याङ्क छ । उत्पादनको ५० प्रतिशत सीटीसी चिया र ९० प्रतिशत अर्थोडक्स चियाको बजार भारत हो । चिया निर्यात गर्नेले भारतको टि बोर्डबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया