एमाले महाधिवेशनमा २५० स्वास्थ्यकर्मी परिचालन गरिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनमा दुई सय ५० भन्दाबढी चिकित्सक परिचालन गरिने भएको छ । महाधिवेशनअन्तर्गतको स्वास्थ्य समितिले महाधिवेशनका लागि चिकित्सकसहितको सबै व्यवस्थापन तयारी पूरा गरेको जनाएको हो ।

स्वास्थ्य समितिको संयोजक भानुभक्त ढकाल र उपसंयोजक वैकल्पिक केन्द्रीय सदस्य रचना खड्का सहसंयोजक रहेका छन् । समितिका सदस्यले चितवनमा गएर खुलासत्र हुने नारायणी नदीको किनार र बन्दसत्र हुने सेभेन स्टार होटेलको अवलोकन गरिसकेको छ ।

समितिले प्राथमिक उपचारदेखि भैपरी आउने स्वास्थ्य समस्या हेर्ने गरी व्यवस्थापन गरेको संयोजक ढकालले बताए । आवश्यक संख्यामा तयारी अवस्थामा एम्बुलेन्स राखिनेछ ।

महाधिवेशन उद्घाटनका दिन मङ्सिर १० गते नारायणी नदी किनारमा चिकित्सकहरुको नेतृत्वमा औषधि र उपकरणसहितको चारवटा स्टल राख्ने तयारी भएको छ । बन्दसत्रका लागि सेभेन स्टार होटेल नजिकै रहेको लायन्स क्लबको भवनमा चारवटा सटर राखेर नियमित चेकजाँचसहितको आपत्कालीन चिकित्सकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

समितिमा रहेका डा कृष्ण अधिकारी र डा सन्तोष पौडेलले दुई दिनअघि चितवनमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीसँग छलफल गरेर आवश्यक व्यवस्थापन टुङ्गो लगाएका छन् । फिल्डमा खटिने अधिकांश चिकित्सक चितवन र आसपास क्षेत्रका रहने जनाइएको छ ।

खुला र बन्द दुवै सत्रमा अनिवार्यरुपमा मास्क र स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने व्यवस्था मिलाइएको छ । विदेशबाट आउनुभएका प्रतिनिधिलाई सम्बन्धित देश फर्कंदा पिसिआर परीक्षण सहजरुपमा गराउने व्यवस्था पनि समितिले नै मिलाएको जनाइएको छ ।

प्रतिक्रिया