भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै ओलीसँग आग्रह गरे, ‘यसपाली मलाई समर्थन गर्नुहोला’
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दै अध्यक्ष केपी ओलीलाई यस पटक आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

नेता रावलले पार्टी फुटको बेला आफूलाई भरोसा गर्न र अध्यक्षमा सघाउन ओलीसँग आग्रह गरे । उनले भने, ‘यसपाली मलाई समर्थन गर्नुहोला ।’ उनले अध्यक्ष ओलीले ७० वर्षको उमेरसम्म पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री भई जिम्मेवारी वहन गरिसकेको र यसअघि नदोहोरिने समेत भनेकाले आफू अध्यक्षमा उम्मेदवार दिन अग्रसर भएको बताए ।

उनले भने, ‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले ७० बर्षको उमेरसम्म आइपुग्दा पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री समेत भई महत्वपूर्ण जिम्मेवारी वहन गरिसक्नु भएको छ । यस क्रममा उहाँले देश र जनताको लागि गर्नसक्ने काम आफ्नो सम्पूर्ण क्षमता, योग्यता, सक्रियता र लगनका साथ गर्दै देश र जनता सबैले देखिसकेका छन् । उहाँ स्वयंले केही समय पहिले पार्टीको नेतृत्व हस्तान्तरण गर्ने र पुनः अध्यक्ष पदमा प्रतिस्पर्धा नगर्ने घोषणा पनि गर्नुभएको हो ।’

नेता रावलले भनेका छन्, ‘उहाँ (ओली)ले यस्तो कार्य र घोषणाको सम्मानको लागि पनि उमेर र अनुभव लगायत सबै दृष्टिबाट परिपक्व भइसकेकोले मैले केन्द्रीय कमिटीको अध्यक्ष पदका लागि अग्रसर हुनु उचित सम्झेको छु । पार्टीमा फुट भएको बेला अरुबाट परिस्थितिको सामना गर्न केही कठिनाई हुन्छ कि भन्ने लागेको भए त्यसबारे ममाथि भरोसा गरी ढुक्क हुन उहाँलाई हार्दिक आग्रह गर्दछु ।’

नेता रावलले आफूले अध्यक्षको जिम्मेवारी पाए भने ओलीको महत्वपूर्ण अनुभव, ज्ञान र दक्षतालाई जहिले पनि पार्टीको विकास, विस्तार र सफलताका लागि सदुपयोग गरिरहन सदा तत्पर रहने बताए । उनले भने, ‘मेरो अध्यक्ष पदको उम्मेदवारीलाई सहजरुपमा लिई पार्टीलाई नयाँ गतिका साथ अघि बढाउन मप्रति सद्भाव प्रदर्शन गर्नहुन कमरेड केपी शर्मा ओली एवम् सबै नेतृत्व तहमा रहनुहुने कमरेडहरु समक्ष हार्दिक आह्वान गर्दछु ।’

उनले भनेका छन्, ‘पार्टी एकताका लागि १०बुँदे सहमति गरिरहँदा पनि मैले देश, जनता र पार्टीको हितका लागि अवलम्बन गर्दै आएको विचार कै पक्षपोषण गरेको हुँ, तिनलाई परित्याग गरेको छैन वा कहीं समर्पण गरेको छैन । कुनैपनि पनि इमान्दार पार्टी नेताले त्यसो गर्नपनि सक्दैन । यही विचार र मान्यता अनुरुप नै मैले आफ्नो उम्मेदवारीको घोषणा गरेकोे छु ।’ उपाध्यक्ष रावलले आफूलाई अध्यक्षको पदमा अमूल्य मत प्रदान गर्नसमेत प्रतिनिधिलाई अनुरोध गरे ।

प्रतिक्रिया