‘विद्यालय तहमा ३५ प्रतिशत अंक ल्याए उर्तिण’
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । सरकारले गठन गरेको अध्ययन कार्यदलले विद्यालय तहमा कुनै विषयमा न्युनतम ३५ प्रतिशत अंक ल्याए उर्तिण हुने सिफारिस गरेको छ । ‘नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदल’ले विद्यालय तहमा सिकाइ उपलब्धिको न्यूनतम प्रतिशत आन्तरिक वा प्रयोगात्मक परीक्षामा ४० र आवधिक वा सैद्धान्तिकमा ३५ हुने गरी अभ्यास गर्न सुझाव दिएको हो ।

कार्यदलले विद्यालय तहको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक विषयमा न्यूनतम अ्रक ल्याउनैपर्ने व्यवस्था गर्नसमेत सुझाव दिएको छ । हाल सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर आउने कुल अंकको आधारमा ग्रेडिङ गर्ने गरिएको छ । तर, यसो गर्दा विद्यार्थीले सैद्धान्तिक वा प्रयोगात्मकमध्ये एउटा पक्षमा मात्र धेरै अंक ल्याउँदा पनि उतीर्ण हुने अवस्था छ । कार्यदलले कक्षा ८, १० र १२ मा न्यूनतम ग्रेड पूरा गरेपछि मात्र मूल प्रमाणपत्र दिन सुझाव दिएको छ ।

न्युनतम ३५ अंक तोकिएपछि सोभन्दा कम सिकाइ उपलब्धि प्राप्त गर्नेहरूको ग्रेडसिटमा ‘कम्पिलिटेड’ भनेर उल्लेख नगर्न पनि सुझाव दिएको छ । विद्यार्थीले आन्तरिक वा प्रयोगात्मकतर्फ सी र आवधिक वा सैद्धान्तिकतर्फ डी ग्रेड प्राप्त गरी समग्रमा डी ग्रेड प्राप्त गर्न नसकेसम्म सो तह पूरा भएको नमानी मूल प्रमाणपत्र पनि नदिन उपयुक्त हुने कार्यदलको सुझाव छ । कार्यदलले माध्यमिक शिक्षा परीक्षा (कक्षा) १० मा नन ग्रेड प्राप्त विद्यार्थीले प्राविधिक तथा व्यवसायिक तालिम/शिक्षातर्फका प्रिडिप्लोमा र सो सरहका कोर्समा भर्ना भई अध्ययन गर्न पाउने जनाएको छ । त्यस्ता विद्यार्थीले सोही वर्ष ग्रेड वृद्धिका लागि दुई विषयसम्मको पुनः परीक्षा दिन र अर्को वर्ष सबै विषयको परीक्षा दिन पाउने कार्यदलको सुझाव छ ।

तर, कक्षा १० र माध्यमिक तहको अन्तिम परीक्षामा नन ग्रेड प्राप्त विद्यार्थीले माथिल्लो तह वा कक्षामा अध्ययनको अवसर पाउने छैनन् । उनीहरुले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएरसमेत माथिल्लो अध्ययन गर्न पाउने छैन । यो ग्रेडिङ शैक्षिक वर्ष २०७८ देखि सबै कक्षा र तहमा लागु गर्न पनि कार्यदलले सुझाव दिएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले २०७७ भदौ ११ गते नेपालमा ग्रेडिङ पद्धतिबारे अध्ययन गरी प्रतिवेदन दिन राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।

जसको सदस्यमा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र का निर्देशक प्रा. डा. पारसनाथ यादव, काठमाडौं विश्वविद्यालयका प्रा.डा. बालचन्द्र लुइटेल, पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहाल र सदस्य सचिवमा पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराई रहेका छन् ।

प्रतिक्रिया