युरोपमा कोभिड-१९का नयाँ प्रतिबन्धात्मक व्यवस्था विरुद्ध प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । युरोपमा कोभिड–१९ सङ्क्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु गरिएका लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

हेगमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि आपत्कालीन अवस्थाको घोषणा गरेको छ भने सात जनालाई पक्राउ गरेको छ । अधिकारीहरूका अनुसार पाँच जना प्रहरी घाइते भएका छन् । शनिबार हेगका सडकमा हुड लगाएका प्रदर्शनकारीले प्रहरीमाथि पटाका फालेको र साइकलमा आगो लगाएको बीबीसीले जनाएको छ । र घोडामा चढेका प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास गरेका छन् ।

यसअघि शुक्रवार प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्ध विरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका थिए । महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो आंशिक लकडाउन लागु गरेको छ । रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेसनहरू बन्द गरिएका छन् । अस्ट्रिया, क्रोएशिया अनि इटलीमा पनि हजारौँ प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।

सन् २०२२को फेब्रुअरीमा कोभिड विरुद्धको खोप अनिवार्य बनाउने योजना र नयाँ राष्ट्रव्यापी लकडाउन सार्वजनिक गरिएसँगै अस्ट्रियाको हजारौँ प्रदर्शनकारीहरू अस्ट्रियाको राजधानी भियनामा विरोधमा उत्रिएका छन् । युरोपेली देशहरूमध्ये खोपलाई अनिवार्य कानुनी प्रावधानका रूपमा अघि सार्ने अस्ट्रिया पहिलो मुलुक हो । सोमवारदेखि उक्त देशमा २० दिनसम्म चल्ने लकडाउन सुरु हुने छ। अत्यावश्यक सामाग्री बेच्ने पसल मात्रै चल्न पाउने छन् भने कर्मचारीहरूले घरबाटै काम गर्नुपर्ने छ ।

त्यस्तै क्रोएशियामा पनि सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरूले अनिवार्य खोप लगाउनुपर्ने नियमको विरोधमा राजधानी जाग्रेबमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । इटलीमा कार्यालय, सार्वजनिक सवारीका साथै अन्य विभिन्न स्थानमा प्रवेश पाउनका लागि अनिवार्य बनाइएको ग्रिन पासको विरोधमा केही हजारको सङ्ख्यामा रहेका मानिसहरू प्रदर्शनमा उत्रिएका छन् ।

प्रतिक्रिया