एमालेको १०औँ महाधिवेशन : पदाधिकारीमा दावी गर्ने पाँच महिला को को हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, ५ मंसिर

काठमाडौं, ५ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेन अब पाँच दिनमात्र बाँकी छ । महाधिवेशन नजिकिएसँगै नेताहरुको दोडधुप पनि बढेको छ । एमालेको १०औंँ महाधिवेशन यही १० मंसिरमा चितवनमा सुरु हुँदैछ । १० दखि १२ मंसिरसम्म हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

अध्यक्षमा केपी ओली सर्वसम्मत हुने निश्चित भएकाले अन्य पदका लागि नेताहरुको दौडधुप सुरु भएको छ । अध्यक्षपछि प्रभावशाली पद महासचिव, बरिष्ठ उपाध्यक्ष र सचिव पदका लागि नेताहरु सेटिङमा जुटेका छन् ।

यस्तै, एमालेका महिला नेताहरुले पदाधिकारीको कम्तीमा एक तिहाइको संख्यामा उम्मेदवारी दिने तयारीमा छन् । केन्द्रीय, स्थायी र पदाधिकारी समेत समावेशी हुुनपर्ने र त्यसका लागि महिला प्रतिस्पर्धामा आउने गरी छलफल भइरहेको एक केन्द्रीय नेताले बताए । उनका अनुसार पार्टी पदाधिकारीमा कसरी उम्मेदवारी दिने भन्नेबारे परामर्श भइरहेको छ ।

एमालेको १५ पदाधिकारीमध्ये कम्तीमा पाँच पदमा महिला उम्मेदवार हुनेगरी एमाले नेतृत्वमा तयारी भइरहेको उनको भनाय छ । पार्टीका शीर्ष नेताहरुले केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता हुने भएपनि त्यही नियम स्थायी कमिटी, पदाधिकारी र सचिवालयमा लागू नहुने बताइरहेका छन् ।

तर, महिला नेताहरुको तयारी अनुसार अष्टलक्ष्मी शाक्य र राधा ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी दिनेछन् भने उपमहासचिवमा विन्दा पाण्डे र सचिवमा पद्मा अर्याल र शिवमाया तुम्बाहाङ्फेले उम्मेदवारी दिने भएका छन् । १०औं महाधिवेशनबाट एमालेले सात सचिव निर्वाचित गर्नेछ ।
एमालेका महिला नेताहरुले संविधानको भावना र प्रावधान पार्टीको माथिल्लो पंक्तिमा पनि लागू हुनुपर्ने बताउँदै आएका छन् । राजनीतिक दल सम्बन्धी ऐनले दलका सबै तहका समितिमा समानुपातिक र समावेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनुपर्ने व्यवस्था गरेको छ ।

ऐनको यही व्यवस्था टेकेर महिला नेताहरु पदाधिकारीमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् । एमालेमा पदाधिकारीका आकांक्षीको समीकरण मिलाउनुपर्ने र पदाधिकारीको चयन सहमतिका आधारमा गर्नुपर्ने छलफल भइरहेका बेला महिला नेताहरुले तयारी थालेका हुन् ।

प्रतिक्रिया