आगामी निर्वाचनमा माओवादीले बहुमत ल्याउँछ: अध्यक्ष प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७८, ४ मंसिर

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०६४मा जस्तै आगामी निर्वाचनमा माओवादी पार्टीले जित हासिल गर्ने दाबी गरेका छन् । रौतहटको कटहरिया बजारमा नेकपा (माओवादी केन्द्र)द्वारा शनिबार आयोजित विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।

उनले मधेसी समुदायको अधिकार संविधानमा सुरक्षित गर्न पनि आफू नेतृत्वको पार्टीले जित्नुपर्ने जिकीर गरे । ‘रौतहट आत्मसमर्पणकारीहरूको जिल्ला होइन, लाल क्रान्तिकारीहरूको जिल्ला हो’, उनले भने, ‘केही दलाल, केही भगौडा, केही प्रतिगामीहरू आत्मसमर्पण गर्दैमा रौतहटवासी झुक्दैनन्, माओवादी केन्द्रलाई अत्यधिक मतले विजयी गराउँछन् ।’ दलित, मुस्लिम, पिछडिएकाहरूका लागि विशेष अधिकार दिलाउन आफू क्रियाशील रहेको र यसका लागि ठूलो लडाइँ लड्नुपरेको उनले स्मरण गराए ।

परिवर्तनका लागि देशभरिमा १७ हजारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले एक हजार ३०० भन्दा बढी मधेसी जनताले बलीदान दिएर परिवर्तनका लागि योगादान गरेको स्मरण गराए । उनले भने, ‘खलनायक, प्रतिक्रिवादीहरू मधेशी, मुस्लिम, दलित, उत्पीडितले आन्दोलनपश्चात पाएको समावेशीको अधिकारलाई समाप्त पार्ने षड्यन्त्रमा लागेका छन्, सचेत हुनुहोला ।’ किसानको समस्यालाई मध्यनजर गर्दै बन्द रहेको श्रीराम सुगर मिल सञ्चालन गराउन आफूले पूरै ताकत लगाउने आश्वासनसमेत अध्यक्ष प्रचण्डले उक्त अवसरमा दिए ।

रौतहटवासीले वर्षेनी खेप्दै आएका डुबानको समस्यालाई समाधान गर्न ऊर्जा तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयलाई लालबकैया र बागमती नदी नियन्त्रण गर्न तटबन्धको व्यवस्था मिलाउन आफूले निर्देशन दिने उहाँले जानकारी दिए ।

उखु किसानको समस्यालाई समाधान गर्न आफूले काठमाडौँमा पुगेर पहल गर्ने विश्वाससमेत दिलाउँदै अध्यक्ष प्रचण्डले शिवनगरमा विद्युत्को शाखा निर्माण गर्ने बताउनुभयो । मुस्लिम समुदायको मागअनुसार शक्तिशाली मुस्लिम आयोग गठन र इस्लामिक विश्वविद्यालय स्थापना गर्न आफूले पहल गर्ने बताए । कटहरिया नगरपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत, नापी, कृषि विकास बैंकको शाखा स्थापना गराउन आफूले सहयोग गर्ने अध्यक्ष प्रचण्डले आश्वासन दिए ।

यस्तै, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले एमसिसीको विषयमा सर्वदलीय बैठकले टुङ्गो लगाउने जानकारी दिए । उनले भने, ‘एमसिसी त्यति ठूलो समस्या हो भन्ने लाग्दैन, सर्वदलीय, सर्वपक्षीय छलफलबाट यसको टुङ्गो लाग्छ ।’ नेकपा (एमाले)को महाधिवेशनपछि हुने सर्वदलीय बैठकमा यस विषयमा छलफल भएर अघि बढ्ने उनको भनाइ थियो । उनले थपे, ‘सुरुआतमा गरिएको समझदारी र पछि भएको समझदारीमा देखिएको विवादमा मात्रै केही समस्या हो ।’

पछिल्लो समय भएको समझदारीमा देखिएको अन्तरविरोधका कारण समस्या आएको उनको भनाइ थियो । उनले भने, ‘हामी अमेरिकी अनुदान फिर्ता जाओस् भन्ने चाहँदैनौँ ।’ नेपाल र अमेरिकाबीचको सम्बन्ध ७५ वर्ष पुरानो रहेको जनाउँदै उनले एमसिसीको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनले सहमतिमा नै नेतृत्व चयन गर्ने उनले विश्वास व्यक्त गरे । वडा, नगर हुँदै हुने अधिवेशनलगत्तै राष्ट्रिय सम्मेलन तोकिएकै मितिमा हुने उहाँले बताए । नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको हो भन्ने पत्रकारको प्रश्नमा उनले सहकार्य भएर अघि बढ्ने बताए ।

प्रतिक्रिया