लोकतन्त्रलाई अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक छ: अध्यक्ष ओली
अखबार टुडे
प्रकाशित:
२०७८, ४ मंसिर

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक हिसाबले देखिएको असहज परिस्थितिलाई लोकतान्त्रिक अभ्यासद्वारा सहज तुल्याउन आवश्यक रहेको बताएका छन् ।

परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले जनताको सचेत प्रयासबाट लोकतन्त्रलाई साँच्चिकै लोकतान्त्रिक अभ्यासबाट अघि बढाउन जागरुक र एकताबद्ध हुन आवश्यक रहेको उल्लेख गरे । अध्यक्ष ओलीले भने, ‘लोकतन्त्र कसैका लागि ठगेर खाने भाँडो बनाइनु हुन्न, अदालत निष्पक्ष, भरोसायोग्य, स्वतन्त्र र मर्यादित होस्, सेटिङमा नचलोस्, जनताको विश्वास जितोस् भन्नेमात्रै हाम्रो चाहना हो ।’

न्याय नपाए गोरखा र काशी होइन, हाम्रौ अदालत जानु भन्ने परिस्थिति बनोस् भन्ने चाहना रहेको उल्लेख गर्दै उनले भने, ‘अदालत संविधान लेख्ने र संशोधन गर्ने ठाउँ होइन, व्याख्या गर्ने ठाउँ हो, संवैधानिक अदालतले व्याख्या मात्र गर्ने हो, हेरफेर गर्न र स्पष्ट लेखेका कुरालाई उल्लङ्घन गर्न सक्दैन ।’

राजनीतिमा संलग्न हुन नहुने, तटस्थ बस्नुपर्ने संस्थाका विषयमा सेटिङका विषय आउन हुन्थेन भन्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘न्यायमूर्तिले राजनीतिक पूर्वाग्रहबाट होइन, हामीले आन्दोलन गरेर ल्याएका संस्था सुसंस्कृत र लोकतान्त्रिक हुनुपर्छ, लोकतन्त्र भनेको कानुनको राज हो ।’

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको दुईदिने उक्त महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्षसहित १०१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्ने छ । संविधानसभा निर्वाचनमार्फत दुई सभासद पठाएर संविधान निर्माणमा योगदान पु¥याएको उक्त दलको पछिल्लो निर्वाचनमा सङ्घीय संसद्मा भने प्रतिनिधित्व हुन सकेन । पच्चीस हजार क्रियाशील सदस्य र चुनाव चिह्न साँचो रहेको परिवार दलको मुलुकका ७७ जिल्लामा सङ्गठन विस्तार भइसकेको बताइएको छ ।

देशभरबाट एक हजार ५०० प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र संविधानसुधार आयोगलगायतको विषयलाई पारित गर्ने तयारी गरेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया