नेपाली राष्ट्रिय फुटवल टीमका कप्तान किरणले माल्दिभ्सको शीर्ष डिभिजन खेल खेल्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ४ मंसिर

काठमाडौं, ४ मंसिर । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण लिम्बूले माल्दिभ्सको शीर्ष डिभिजन खेल्ने क्लब माजिया एससीमा आबद्ध भएका छन् । यससँगै उनले माल्दिभ्सबाट सिजन लिग खेल्ने भएका छन् । उनले अब सिजन २०२१/२२ सिजनका लागि आबद्ध भएका हुन् ।

किरणले माजियामा आबद्ध भएपछि खुसी व्यक्त गर्दै प्रत्येक खेलमा आफ्नो शतप्रतिशत दिने बचन दिएका छन् । किरण शुक्रबार माल्दिभ्स गएका थिए । उनले शनिबार माजियासँग आबद्ध भएको सार्वजनिक गरेका छन् ।

माजिया सन् २०१९–२० र २०२०–२१ सिजनको च्याम्पियन हो । माल्दिभ्सको शीर्ष डिभिजनको लिग ६ पटक खेलेको माजियाले तीनपटक उपाधि जितेको छ । माजिया एक पटक दोस्रो र एक पटक तेस्रो भएको छ ।

गत सिजनमा किरणले भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए । लिगका १५ खेलमध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए । जसका कारण उनले सिजनको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए । राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले केही महिनाअघि मात्र एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए ।

प्रतिक्रिया