अब देशैभर १८ वर्ष माथिकालाई कोरोनाविरुद्धको खोप लगाइँने
अखबार टुडे
प्रकाशित:
२०७८, ४ मंसिर

काठमाडौं, ४ मंसिर । अब नेपालमा कोरोनाभाइरस विरुद्धको खोप देशैभर १८ वर्ष माथिका सबैलाई दिने सरकारले निर्णय गरेको छ । त्यसैअनुसार प्रदेशहरूमा खोप पठाउने काम भइरहेको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार झन्डै ३६ लाख खोप हाल उपलब्ध रहेको र जिल्ला एवं स्थानीय तहहरूसँग समन्वय गरेर आवश्यकता अनुसार खोप कार्यक्रम सञ्चालन गर्न प्रदेशहरूलाई भनिएको छ ।

खोप लगाउन बाँकी १८ वर्षभन्दा कम उमेरका बालबालिका लागि खरिद सम्झौता गरिएको खोप पनि एक महिनाभित्र आउन सुरु हुने स्वास्थ्यमन्त्रीले बताएका छन् । यसअघि सरकारले कोरोनाभाइरस विरुद्धको खोप उमेर र पेसालाई वर्गीकरण गरेर खोप अभियान चलाउँदै आएको थियो ।

खोपको उपलब्धताका आधारमा केही जिल्लाहरूले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन सुरु गरेपनि धेरैजसो जिल्लामा १८ वर्ष माथिका सबैले खोप पाउन सकेका छैनन् ।

प्रदेशहरूमा ३६ लाख खोप

हालै बसेको खोप सल्लाहकार समितिको बैठकले १८ वर्ष माथिका सबैलाई खोप दिने निर्णय गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । त्यसै अनुसार खोप प्रदेशहरूमा पठाउने काम भइरहेको र अब उनीहरूले योजना खोप दिने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर दाहालले बताए । उनले भने, ‘ती खोप अब १८ वर्षभन्दा माथिका सबैलाई उपलब्ध गराउन भनेर प्रदेशहरूलाई अनुरोध गरेका छौँ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयले जिल्लासँग पालिकासँग समन्वय गरेर आवश्यकता अनुसार अभियानकै रूपमा अथवा नियमित रूपमा खोप उपलब्ध गराउने व्यवस्था हुने छ । हाल ३६ लाख मात्रा खोप विभागसँग रहेको र थप खोप आउने क्रममै रहेको बताइएको छ ।
स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन जान उनले सबैलाई सार्वजनिक आग्रह गरेका छन् ।

प्रतिक्रिया