भारतमा धार्मिक तथा आध्यात्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु: रामदेव
अखबार टुडे
प्रकाशित:
२०७८, ४ मंसिर

काठमाडौं, ४ मंसिर । भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताएका छन् ।

शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उनले भने, ‘नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।’

उनले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गरे । नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उनले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती भएको बताए ।

बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो । त्यस प्रशिक्षणमा उनका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी थिए । त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गरेका थिए ।

रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गरेका थिए । योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण बिहीबार नेपाल आएका हुन् ।

प्रतिक्रिया