संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्ताबीच झडप, ५ जना घाइते
अखबार टुडे
प्रकाशित:
२०७८, ४ मंसिर

काठमाडौं, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा संस्थापन इतर समूहका कांग्रेस नेता कार्यकर्ताबीच हात हालाहाल भएको छ ।

१४ औं महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको बताइएको छ । सो क्रममा ५ जना घाइते भएका छन् ।

स्रोतका अनुसार मतगणनास्थलमा मुख छोपेर आएका केही व्यक्तिहरुले पौडेल पक्षका नेता कार्यकर्तालाई हातपात गरेको बताइएको छ । जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो ।

घाइते भएका प्रदेशसभा क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य ४ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

विवादका कारण मतगणना स्थगित भएको अध्यक्ष पदका उम्मेदवार पुरण श्रेष्ठले बताए । प्रदेश–३ (क) मा संस्थापन पक्षबाट सुरेन्द्र जङ्ग थापा र नेता पौडेल पक्षबाट पुरणप्रसाद श्रेष्ठ उम्मेदवार छन् ।

प्रतिक्रिया