काठमाडौं, ३ मंसिर । अमेरिकी अनुदान सम्झौता एमसीसीबारे राजनीति दलभित्रै विवाद छ । एमसीसीबारे नेपाली राजनीतिमा दुईथरी बहस भइरहेका बेला अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमणमा आएका छन् । लू नेपाल आउनुको कारण एमसीसीबारे नेपालको धारणा बुझ्नलाई नै भन्ने उनको भेटघाट र भनाइले स्पष्ट देखाएको छ ।
बिहीबार नेपाल भ्रमणक्रममा काठमाडौं आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लू शुक्रबार दिनभरी शीर्ष नेताहरुसँग भेटघाटमा व्यस्त भए । उनले भेटका क्रममा नेताहरुसँग ‘एमसीसीबारे नेपालको धारणा मात्र मागेनन्, एमसीसी सम्झौता पास नगरे अन्य सहयोग समेत रोक्ने चेतावनी दिए ।
शुक्रबार उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली शर्मा, गृहमन्त्री बालकृष्ण खाँणलगायतसँग भेटेर एमसीसीबारे नेपालको धारणा मागेका थिए । उनले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटेका थिए ।
लूले माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा एमसीसी नेपालका लागि आवश्यक छ किन छैन भनेर प्रश्न राखेका थिए । अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लका अनुसार झन्डै ४५ मिनेटसम्म चलेको छलफलमा लूले भने, ‘एमसीसी नचाहिने भए अरू देशले मागिरहेका छन् । फिर्ता लानुप¥यो’ भनेका थिए ।
भेटघाटका क्रममा अमेरिकी पक्षले एमसीसीबारे समयसीमा नै तोकेर टुंगोमा पुग्न भनेको विवरणहरू सार्वजनिक भइरहेका बेला लू नेपाल आएका हुन् । प्रत्युत्तरमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सबै राजनीतिक दल, बुद्धिजीवी, पत्रकारहरूलाई राखेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्ने बताएको मल्लको भनाइ छ ।
‘यदि त्यहाँ सहमति बन्न सक्ने स्थिति रह्यो भने यसलाई सकारात्मक ढङ्गले नै हामीले हल गर्ने प्रयास गर्छौँ भन्ने कुरा गर्नुभएको छ अध्यक्षज्यूले’ मल्लले भने । सुरुमा आएको एमसीसीको मस्यौदामा भएको संशोधनको कुराका कारण यो नेपालमा विवादको विषय बनेको जानकारी गराएको बताइएको छ ।
यस्तै, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि अमेरिकी सहायक विदेशमन्त्री लूले नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदनका लागि समय घर्किरहेको बताउँदै नेपालले यसबारे निर्णय लिनुपर्ने धारणा अमेरिकाले राखेका थिए ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको भेटमा विदेशमन्त्री लूले अध्यक्ष ओलीलाई एमसीसीबारे जिज्ञासा राख्दै ‘एमसीसीबारे नेपालको धारणा मागेका थिए । भेटमा सहभागी एमाले नेता राजन भट्टराईका अनुसार विदेशमन्त्री लूले नेपालले एमसीसी के गर्छ भनी प्रश्न गरेका थिए । जवाफमा पुर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमसीसीबारे सरकारले आफ्नो दलसँग अहिलेसम्म परामर्श नगरेकाले ठोस धारणा नबनाएको बताएका थिए ।
यस्तै शुक्रबार नै गृहमन्त्री बालकृष्ण खाँण र लुबीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको हो ।
दुई दिने नेपा भ्रमणका आएका सहायक विदेशमन्त्री लू र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी छलफलमा सहभागी थिए । भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो ।
नेपाल भ्रमणका लागि सहायक विदेशमन्त्री लुलाई धन्यवाद दिँदै गृहमन्त्री खाँणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
एमसीसीको विरोधमा प्रदर्शन
यस्तै, शुक्रबार महाराजगन्जस्थित अमेरिकी दूतावासअगाडि शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी)ले प्रदर्शन गरेको छ । सोक्रममा केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
एमसीसी पारितका लागि दवाब दिन अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलासम्बन्धी सहायक विदेश नेपाल आएको भन्दै क्रान्किारीले त्यसको विरोधका विरोध प्रदर्शन गरेको हो ।