एमाले महाधिवेशन नजिकिँदै, पूर्वमाओवादी नेताहरु चिढिँदै
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

काठमाडौं, ३ मंसिर । नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुमा असन्तुष्टि पनि बढ्दै गएको छ । विशेषगरी माओवादीबाट एमाले बनेका नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिएका छन् ।

अध्यक्ष ओलीले पूर्व सहमतिअनुसार महाधिवेशन प्रतिनिधि छनोट नगरेको भन्दै उनीहरु असन्तष्ट बनेका हुने । एमाले स्थायी कमिटी सदस्य रहेका एक पूर्वमाओवादी नेताका अनुसार अध्यक्ष ओलीसँग प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एकजना महाधिवेशन प्रतिनिधि पूर्वमाओवादी समूहबाट पर्नुपर्ने शर्त थियो । तर, अध्यक्ष ओलीले एकलौटी महाधिवेशन प्रतिनिधि छनोट गरेको उनीहरुको बुझाइ छ ।

लेखराज भट्ट इञ्चार्ज रहेको सुदूरपश्चिममा समेत अध्यक्ष ओलीले प्रतिनिधि छनोटमा झेली गरेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । एमालेको महाधिवेशन आउन अब एक सातामात्र बाँकी छ । एमालेको १०औँ महाधिवेशन यही मंसिर १० गते चितवनमा सुरु हुँदैछ । एक साता समय हुँदा पूर्वमाओवादी नेताहरु महाधिवेशन प्रतिनिधि छनोटमा विभेद भएको बताउन थालेका छन् ।

अहिलेको प्रतिनिधि छनोटको हिसावले केन्द्रमा पूर्वमाओवादीको पक्षमा कोही नआउने बताउँदै उनले भने, ‘यो हिसावले त हाम्रो १० प्रतिशत पनि आउँदैन ।’

पूर्वमाओवादी नेताहरुका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट न्यूनतम एक–एकजना, जनवर्गीय संगठनबाट एक–एक र दलित नेता भएको ठाउँबाट एक जना महाधिवेशन प्रतिनिधि लिने अध्यक्ष ओलीसँग मौखिक सहमति भएको थियो । तर, अहिले अध्यक्ष ओलीले सहमति तोडेको भन्दै पूर्वमाओवादी नेताहरु रष्ट बनेका छन् ।

एमालेको १०औँ महाधिवेशन आउन अब धेरै दिन बाँकी छैन । पूर्वमाओवादी नेताहरुले यस महाधिवेशनलाई ‘एकता र सहमतिको महाधिवेशन’ बताउनुपर्नेमा जोड दिँदै आएका छन् । तर, त्यो सम्भावना टर्दै गएको उनीहरुको बुझाइ छ । हाल एमालेमा पूर्वमाओवादी समूहका २५ जनाको उपस्थिति रहेको छ । आगामी महाधिवेशनमा २५जनाले नै वैधानिकता पाउनुपर्ने पूर्वमाओवादीको माग रहेको छ ।

‘केन्द्रीय कमिटीमा हामी २५ जना छौँ’ एक पूर्वमाओवादी एमाले स्थायी कमिटी सदस्य बनेका एक नेताले भने, ‘बादलसहित चारजना स्थायी कमिटीमा छौँ, यो टोलीलाई ग्यारेन्टी भएमा भने हामी चुनावमा जाने वा नजाने निश्चित छैन ।’

पार्टी एकताको भाव झल्काउनका लागि पूर्वमाओवादी समूहबाट रामबहादुर थापा बादललाई बरिष्ठ उपाध्यक्ष बनाइनुपर्ने आफूहरुको अडान रहेको उनको भनाइ छ । अहिले स्थायी कमिटीमा रहेका चारजना र प्रभु साहसमेत स्थायी कमिटीमा पर्नुपर्ने उनको माग छ । बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सचिवमा समेत पूर्वमाओवादी नेताहरुले दावी गर्दै आएका छन् ।

पूर्वमाओवादी समूहले १०औंँ महाधिवेशनमा सहमतिबाटै आफूहरुको व्यवस्थापन गर्न ओलीसँग छलफल भइरहेको बताइएको छ । तर, सहमति नगरे फरक ढंगबाट सोच्ने पूर्वमाओवादी नेताहरुले बताउन थालेका छन् ।

प्रतिक्रिया