पाकिस्तानमा बलात्कार गरेको आरोप पुष्टी भए ‘नपुसंक’ बनाइने
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

काठमाडौं, ३ मंसिर । पाकिस्तानमा धेरै पटक बलात्कार गरेको आरोप पुष्टी भएमा अब न्युटरको सजाय हुन सक्नेछ अर्थात बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कार सम्बन्धी नयाँ विधेयक पारित गरेको छ ।

पाकिस्तानमा पछिल्ला केही वर्षयता बढ्दो बलात्कारका घटनालाई लिएर जनआक्रोशलाई मध्यनजर गर्दै नयाँ कडा कानुन बनाउने निर्णय गरिएको हो । गत वर्ष पाकिस्तानमा पनि बलात्कारका दोषीलाई न्युटर बनाउन अध्यादेश ल्याइयो । झण्डै एक वर्षपछि बुधबार बसेको संसदको संयुक्त बैठकले पारित गरेको विधेयकमा पनि यही प्रावधान पेश गरिएको हो ।

विधेयकमा भनिएको छ, ‘केमिकल क्यास्ट्रेशन भनेको प्रधानमन्त्रीले बनाएको नियमअनुसार स्वीकृत प्रक्रिया हो, जसमा व्यक्तिलाई आजीवन यौनसम्पर्क गर्न अयोग्य बनाइन्छ, जसका लागि अदालतले लागूऔषध प्रयोग गर्न आदेश दिनेछ । र सो आदेशलाई मेडिकल बोर्डले स्वीकृत गर्छ ।’

तर नपुंसक बलात्कारीको प्रावधानको कट्टरपन्थी इस्लामिक समूहहरूले विरोध गरिरहेका छन् । जमात–ए–इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले विधेयकलाई इस्लाम विरोधी र शरिया विरोधी भनेका छन् । उनले बलात्कारीलाई सार्वजनिक रुपमा फाँसी दिनुपर्ने बताए ।

के हो केमिकल कास्ट्रेशन ?
केमिकल कास्ट्रेशन भनेको औषधि दिएर मानिसको यौन क्रियाकलाप कम गर्ने प्रक्रिया हो । यो औषधिले शरीरमा टेस्टोस्टेरोन हर्मोन कम गर्छ । विश्वका कतिपय देशमा केमिकल क्यास्ट्रेशन अर्थात् औषधि दिएर नपुंसक बनाउने व्यवस्था छ । सन् २०१६मा, इन्डोनेसियाले बालबालिका विरुद्ध यौन अपराध गर्नेहरूका लागि रासायनिक कास्ट्रेशनको प्रावधान गर्यो।

सन् २००९मा पोल्याण्डले समेत बालबालिकालाई बलात्कार गर्ने वयस्कहरूलाई रासायनिक कास्ट्रेशन अनिवार्य बनायो । मिडिया रिपोर्टका अनुसार दक्षिण कोरिया र चेक रिपब्लिक बाहेक अमेरिकाका केही राज्यमा पनि यस्तो कानून लागू भएको छ ।

पाकिस्तानमा पछिल्ला वर्षमा यौन हिंसाका घटनाविरुद्ध कडा कदम चाल्नु पर्ने आवाज बढिरहेको छ । त्यहाँ यौन आक्रमणका घटनाका दोषीमध्ये ४ प्रतिशतभन्दा कमले मात्रै सजायँ पाउने गरेको आलोचकहरू बताउँछन् । – बीबीसी हिन्दीबाट

प्रतिक्रिया