गणकहरु नेपाली भूमि हुँदै छाङरु र तिङ्करतर्फ, पुग्नै तीन दिन लाग्ने
अखबार टुडे
प्रकाशित:
२०७८, ३ मंसिर

काठमाडौं, ३ मंसिर । भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि दार्चुलाका दुई दुर्गम गाउँमा गणना गर्न नेपाली भूमि प्रयोग गर्दा कठिनाइँ हुने भएको छ ।

केन्द्रीय तथ्याङ्क विभागकाअनुसार दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि गणकहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएको जानकारी दिएका छन् । अनुमति नपाउदा उनीहरु जोखिम मोलेरैै त्यसतर्फ गएका हुन् । छाङरु र तिङ्कर पुग्न तीन दिन लाग्ने बताइएको छ । दार्चुला सदरमुकाम खलङ्गाबाट नेपाली बाटो हुँदै छाङरु र तिङ्कर पुग्न सजिलो छैन । खलङ्गाबाट तिङ्कर र छाङरु पुग्ने बाटो बिग्रिएको र निकै जोखिमपूर्ण रहेको छ ।

जोखिमयुक्त क्षेत्रमा सशस्त्र प्रहरीसँग समन्वय गरेर बाटो पार गरिने केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए । छाङरु र तिङ्करमा जनगणना गर्न पालिका र सुरक्षाकर्मीसँगै सीमा सुरक्षा बलसँग समन्वय गरिएको विभागले जनाएको छ ।यसअघि जनगणनाको पहिलो चरणको घर तथा घर परिवार सूचीकरण गर्न भने नेपाली टोली भारतीय भूमि हुँदै छाङरु र तिङ्कर पुगका थिए ।

प्रतिक्रिया