क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन ल्याउने
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

नयाँदिल्ली, २ मङ्सिर (एजेन्सी) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताएका छन् । साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको बताए ।

भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ । भारतका राज्यहरु एवं केन्द्रीय बैंकको रेखदेख र नियन्त्रण भन्दा बाहिर गएर बिट्क्वाइनको कारोबार भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने खाँचो देखिएको मोदीको भनाई छ ।

अस्ट्रेलियाली रणनीतिक नीति इन्स्टिच्यूटले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै सबै लोकतान्त्रिक मुलुकहरुले सहकार्य गरी क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले खराब व्यक्तिको हातमा क्रिप्टोकरेन्सी पर्न नदिन र युवाको जीवन बर्बाद बनाउनबाट रोक्न पनि सरकारहरुले तत्कालै काम गर्नुपर्ने बताए । लागूपदार्थको तस्करी, मानव तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको यस क्षेत्रका विज्ञहरुको भनाई छ ।

विश्वका धेरै मुलुकमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाइएको छ । भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेश लगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो संख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।

ब्रोकरचुजरले गरेको अध्ययनले भारतमा १० करोड भन्दा बढी व्यक्ति भर्चुअल मुद्राको कारोबारमा संलग्न रहेको देखाएको छन् । संयुक्तराज्य अमेरिका, रसिया र नाइजेरिया पछि भारतीयहरु यसमा बढी आबद्ध भएका छन् । क्रिप्टोको कारोबारमाथि फेरि प्रतिबन्ध लगाउन अहिले भारत सरकारमाथि चर्को दबाब बढेको छ । त्यही कारण भारत सरकारले यसै वर्षको अन्त्यतिर नयाँ कडा कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ ।

भारतको केन्द्रीय बैंकका प्रमुख शक्तिकान्त दास पनि क्रिप्टोको कारोबारलाई कडा नियमन गर्नुपर्नेमा सहमतछन् । गत साता उनले नियमन नगर्ने हो भने क्रिप्टो मुद्राले देशको वित्तीय प्रणालीमाथि खतरा निम्त्याउने चेतावनी दिएका थिए ।

प्रतिक्रिया