मिस वल्डको उपाधि ल्याउने कोशिस गर्नेछु : नम्रता
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

काठमाडौं, २ मंसिर । ‘मिस नेपाल वल्ड’ नम्रता श्रेष्ठ यही ३० नोभेम्बर अर्थात मंसिर ४ गते अमेरिका उड्दैछिन् । अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने ‘मिस वल्ड २०२१’मा सहभागी हुन उनी त्यसतर्फ उड्न लागेकी हुन् ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले बिहीबार काठमाडौं एक कार्यक्रमको आयोजना गर्दै मिस नेपाल विजेताहरू प्रतियोगिताका लागि तयार रहेको जानकारी दिएको हो । कार्यक्रममा मिस वल्डका लागि नम्रताले तयार पारेको दुई भिडियो देखाइएको थियो । एक भिडियोमा उनको परिचय रहेको थियो भने दोस्रोमा ब्युटी विथ पर्पस विधाका लागि उनले धादिङमा निर्माण गरेको झोलुंगे पुलको जानकारी थियो ।

५० लाखको खर्चमा धादिङमा उनले बनाएको पुल केही दिनअघिबाट सञ्चालनमा आएको छ । जसको उद्घाटन निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद गौतम, मिस नेपाल वल्ड नम्रता श्रेष्ठ र द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा आफुले बनाएको पुलबाट २० हजारभन्दा बढी स्थानीयले लाभ लिने नम्रताले बताइन् । नेपालले मल्टिमिडिया र व्युटी विथ पर्पसको अलवा उपाधिसमेत नेपाल ल्याउने आफ्नो कोशिस रहने उनले बताइन् ।

मिस वल्डमा नम्रतालाई सृजनशील प्रतिभाको रुपमा प्रस्तुत गर्न विशिष्ट प्रशिक्षकद्वारा उत्कृष्ट र गतिशील प्रशिक्षणसमेत प्रदान गरिएको द हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए ।

प्रतिक्रिया