सर्वोच्चको फुलकोर्ट बैठक : गोलाप्रथाको कार्यविधि पारित, आइतबारदेखि नियमित इजलास बस्ने तयारी
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

काठमाडौ, २ मंसिर । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेक न्यायाधीशहरुको बैठकले गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली संशोधन गरिएको छ ।

सर्वोच्च अदालतको फुलकोर्ट ले पारित गरेको नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका बिहीबार नै कानुन मन्त्रालयमा पठाइने सर्वोच्च स्रोतले जनाएको छ । त्यसलाई आजै आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको हो ।

फुलकोर्टको बैठकले नियमावली संशोधन गरेको र निर्देशिका समेत पास भएको गरेको एक न्यायाधीशको भनाइ छ । नियमावलीको नियम २० मा रहेको निर्देशिका परिवर्तन गरिएको हो । यो निर्देशिका अब कानुन मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि राजपत्रमा प्रकाशित गरिनेछ ।

आइतबारदेखि नियमित इजलास बस्ने तयारी
यसैबीच प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको फुलकोर्टले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्न मञ्जुर भएका हुन् ।

एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आइतबारदेखि नियमित इजलासमा फर्किने अवस्था आएको हो ।

प्रतिक्रिया