ठूलो तुफानपछि ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल घोषणा
अखबार टुडे
प्रकाशित:
२०७८, २ मंसिर

काठमाडौं, २ मंसिर । ठूलो तुफानपछि क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा सङ्कटकाल घोषणा गरिएको छ ।

उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएका कारण सडक तथा रेलमार्ग क्षतविक्षत छन् । इन्धन र खाद्यान्नलगायतको आपूर्ति प्रभावित बनेको छ । पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन् । त्यसले गर्दा केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ ।

हजारौँ मानिसले घरबास छोडेर सुरक्षित ठाउँको खोजीमा लागेका छन् । प्रभावित क्षेत्र ब्रिटिस कोलोम्बियाबाट हजारौँ मानिसलाई अन्तै सारिएको छ । विपद्बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन् । प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन् । उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बीबीसीले उल्लेख गरेको छ ।

त्यहाँ एउटा वायुमण्डलीय नदी उत्पन्न भएको थियो । त्यस्तो अवस्थामा उष्ण तटीय क्षेत्रबाट हावा चिसिन लागेको बाफ बोकेर ध्रुवीय क्षेत्रतर्फ बहन्छ । उक्त अवस्था उत्पन्न हुँदा त्यस क्षेत्रमा एक महिनामा पर्ने औसत पानी चौबिस घण्टाभित्रै परेको थियो । अधिकारीहरूले त्यस्तो अवस्था उत्पन्न हुनुमा जलवायु परिवर्तन कारक रहेको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया