विद्युतको नयाँ महसुल दर लागू, २० युनिटसम्म बिजुली प्रयोग गर्नेले ३० रुपैयाँमात्रै तिरे पुग्ने
अखबार टुडे
प्रकाशित:
२०७८, १ मंसिर

काठमाडौं, १ मंसिर । विद्युत नियमन आयोगले निर्धारण गरेको विद्युतको नयाँ महसुल दर आजदेखि (बुधबार) लागू भएको छ । विद्युत् नियमन आयोगको गएको कात्तिक १० गतेको निर्णयअनुसार आजदेखि विपन्न परिवारलाई फाइदा हुने गरी नयाँ महसुल कार्यान्वयनमा आएको हो । लागू भएसँगै नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ ।

नयाँ महसुलअनुसार महिनाको ५ एम्पियरबाट २० युनिटसम्म बिजुली प्रयोग गर्ने घर परिवारले बिजुलीको पैसा तिर्नुपर्ने छैन, ३० रुपैयाँ इनर्जी शुल्क तिरेमात्रै पुग्नेछ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकहरूलाई लाभ पुग्नेछ । सिंगल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साबिकको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, मासिक ४०० युनिटमाथि विद्युत खपत गर्ने उपभोक्ताहरूको इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाएको छ । यसैगरी, सिंगल फेजबाट मासिक ४०० युनिटभन्दा बढी विद्युत खपत गर्ने ५ एम्पियर, १५ एम्पियर, ३० एम्पियर र ६० एम्पियरका ग्राहस्थ उपभोक्ताको मासिक न्यूनतम शुल्कको हकमा साविकको महशुल दरमा २५ रुपैयाँले घटाएर क्रमशः १५०, १७५, २०० र २५० रुपैयाँ कायम गरिएको छ ।

सिंगल फेजबाट आपूर्ति लिइ मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्नेहरूको हकमा साविकको दरमा प्रति युनिट ५० पैसा घटाएर प्रतियुनिट ९.५० रुपैयाँ कायम गरिएको र सिंगल फेजबाट आपूर्ति लिइ मासिक ४०० युनिटभन्दा माथि विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्कमा प्रति युनिट १ रुपैयाँ घटाइएको छ ।

सिँचाइका ग्राहकको महसुल दर पनि घटाएको छ । उनीहरूले तिर्नुपर्ने महसुल औषतमा ४०.६९ प्रतिशतसम्म घटाइएको हो । २३०÷४०० भोल्टबाट आपूर्ति लिने सिँचाइ वर्गका उपभोक्ताको इनर्जी शुल्क प्रतियुनिट २.०५ ले घटाएर २.२५ कायम गरिएको छ । नयाँ महसुलअनुसार सरकारी अस्पताल र स्वास्थ्य चौकीले समयमै महसुल तिरेमा २० प्रतिशत छुट पाउनेछन् ।

प्रतिक्रिया