पहिलो ई पासपोर्ट शताब्दीपुरुष जोशीलाई : सर्वसाधारणले कहिलेदेखि पाउँछन् ?
अखबार टुडे
प्रकाशित:
२०७८, १ मंसिर

काठमाडौं, १ मंसिर । सरकारले बुधबारदेखि ई पासपोर्ट (विद्युतीय राजदानी’ विरतण सुरु गरेको छ । नेपालले पहिलोपटक विद्युतीय पासपोर्ट लागू गरेको हो । सरकारले पहिलो ई पासपोर्ट शताब्दीपुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित एक कार्यक्रमबीच परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गरेका थिए ।

सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको छ । राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार केही दिनपछि त्रिपुरेश्वरस्थित राहदानी विभागबाट ई पासपोर्ट वितरण सुरु हुनेछ ।

ई पासपोर्ट वितरण सुरु गरेपछि पनि मेसिन रिडेबल पासपोर्ट वितरणलाई पनि निरन्तरता दिने महानिर्देशक अर्यालको भनाइ । डिसेम्बरको १०\१२ तारेखसम्म प्रणालीमा देखिएका प्राविधिक समस्या हल गरेर ई पासपोर्टमात्र वितरण गरिने भएको छ । ई पासपोर्टको अनलाइन बुकिङका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।

के हो ई पासपोर्ट ?
ई–पासपोर्ट चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १ सय २० भन्दा बढी देशले अहिले जारी गरिरहेका ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिनेछ ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।

विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ । साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

प्रतिक्रिया