अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश
अखबार टुडे
प्रकाशित:
२०७८, १ मंसिर

काठमाडौं, १ मंसिर (एजेन्सी)। चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी देश बनको छ । परिामर्शदाता म्याकिन्से एण्ड कम्पनीले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पछिल्लो २० वर्षमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक–तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ ।

यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ । प्रतिवेदनअनुसार सन् २०००मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक–तिहाई हिस्सा चीनको रहेको छ ।

सन् २०००मा विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२०मा कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।

तर, विश्वकै ठूलो अर्थतन्त्र भएको अमेरिका भने पछि परेको छ । पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र यो बिचमा अमेरिकामा कूल सम्पत्ति ९० ट्रिलियन डलरले बढेको छ । सम्पत्ति (प्रोपर्टी)को मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका यी दुवै मुलुकको दुई–तिहाईभन्दा बढी सम्पत्ति अति धनि १० प्रतिशत मानिससँग रहेको र उनीहरूको हिस्सा बढ्ने क्रम जारी रहेको ब्लुमबर्गले म्याकिन्से एण्ड कम्पनीको रिपोर्ट उदृत गर्दै लेखेको छ ।

म्याकिन्से एण्ड कम्पनीले १० वटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी १० देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् । चीन र अमेरिकासहित रिपोर्टमा फ्रान्स, जापान, अस्ट्रेलिया, स्वीडेन, जर्मनी, क्यानडा र मेक्सिको र बेलायतलाई समावेश गरिएको छ ।

प्रतिक्रिया