आजदेखि ई-पासपोर्ट, के हो र कस्ता व्यक्तिले पाउँछन् त ?
अखबार टुडे
प्रकाशित:
२०७८, १ मंसिर

काठमाडौं, १ मंसिर । सरकारले आजदेखि विद्युतीय राहदानी अर्थात् इ–पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ ।

अहिले नेपालमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) चलनमा रहेको छ । राहदानी विभागका अनुसार एक हप्तापछि पूर्णरुपमा ई पासपोर्ट वितरण सुरु हुने भएको छ । तर, अहिले नै सरकारले ई पासपोर्टलाई अनिवार्य भन्ने गर्ने छैन । पहिलो चरणमा विभागले साधारण पासपोर्ट जारी गर्ने तयारी गरेको छ । मेसिन रिडेबल राहदानी (एमआरपी) बिस्तारै विस्थापन गर्दै लैजाने विभागको योजना छ ।

के हो ई-पासपोर्ट ?
ई–पासपोर्ट चिप्स र विद्युतीय बारकोडसहित यो विशेष र सुरक्षित पासपोर्ट हो । विश्वका १ सय २० भन्दा बढी देशले अहिले जारी गरिरहेका ई–पासपोर्टमा चिप्स हुन्छ र त्यसमा पासपोर्टवाहकको सबै जानकारी उपलब्ध हुन्छ । यसका साथै नेपालमा जारी भएको पासपोर्ट आधिकारिक हो कि होइन भनेर त्यसको डिजिटल सिग्नेचर र ‘कि’हरू आइकाओमार्फत सम्पूर्ण देशमा शेयर हुने भएकाले संसारका सबै अन्तर्राष्ट्रिय अध्यागमन मै पासपोर्टको आधिकारिकता र पासपोर्ट बोकेको मानिस हो कि होइन भनेर जाँच गर्न सकिनेछ ।

ई–पासपोर्ट एमआरपीभन्दा बढी सुरक्षित, आधिकारिक र अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त पासपोर्ट हो । एमआरपीको तस्बिर भएको पेज अर्थात् डाटा पेजमा ‘अप्टिकल क्यारेक्टर रिकग्नाइजेसन फर्म्याट’मा मेसिन रिडेबल जोन हुन्छ । पासपोर्ट रिडर मेसिनले रिड गर्दा त्यसमा उल्लेखित महत्वपूर्ण विवरणहरू देखिन्छन् ।

विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले यात्रा गर्दा अध्यागमनमा सहज हुन्छ । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न नसक्ने हुनाले यसको आधिकारिकता धेरै हुन्छ । साधारण पासपोर्टको रङ्ग भने परिवर्तन हुनेछ । साधारण पासपोर्ट चकलेटी खैरो हुन्छ भने यसको पृष्ठ पनि ३४ र ६६ पेज गरी दुई प्रकारका हुनेछ ।

सात किसिमका राहदानीमध्ये कुन, कस्ता व्यक्तिले पाउँछन् त ?
विभागले सात किसिमका इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । हाल ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने बताइएको छ ।

कूटनीतिक

सरकारी वा विशेष कामका लागि विदेश भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले कूटनीतिक राहदानी जारी गर्छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि तथा राष्ट्रिय सभाका अध्यक्षले यस्तो राहदानी पाउँछन् ।

त्यस्तै उपप्रधानमन्त्री, नेपाल सरकारका राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषदका सदस्य, महान्यायधिवक्ता, राष्ट्रियसभामा विपक्षी दलका नेता, प्रदेशसभाका सभामुख, मन्त्रीहरू, प्रतिनिधि तथा राष्ट्रियसभा सदस्य, महावाणिज्यदूत, परराष्ट्रमन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा कार्यरत राजपत्रांकित अधिकृत कर्मचारी लगायतलाई यस्तो राहदानी जारी गरिन्छ ।

नेपाल सरकारका सचिव, नेपाली राजदूत, प्रहरी महानिरीक्षक राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, उपमहानगरपालिका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुखका लागि यस्तो राहदानी जारी गरिन्छ ।

संवैधानिक निकाय वा सचिवालयको सिफारिससहित कूटनीतिक राहदानी माग गरेमा पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, व्यवस्थापिका संसदका पूर्व सभामुख तथा पूर्व परराष्ट्रमन्त्रीका लागि विभागले कूटनीतिक राहदानी जारी गर्छ ।

विशेष

नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काममा विशेष भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले विशेष राहदानी जारी गर्छ । यस्तो राहदानी नगरपालिका प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, न्यायसेवा आयोगका सदस्य, प्रदेश योजना आयोगका सदस्य लगायतका लागि जारी गरिन्छ ।

त्यस्तै काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाका उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सचिव एंव राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका अधिकृत, जिल्ला न्यायाधीसका लागि जारी गरिन्छ ।

कूटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, तथा स्थानीय तहका अधिकृतस्तरका कर्मचारी गाउँपालिकाका उपाध्यक्ष लगायतका लागि विशेष राहदानी जारी गरिन्छ ।

राष्ट्र बैंकका डेपुटी गर्भनर, प्रचलित कानुन बमोजिम गठित आयोग, समिति तथा बोर्डका पदाधिकारीहरूका लागि पनि विशेष राहदानी जारी गरिन्छ । सरकारबाट मनोनयन भइ छात्रवृत्तिमा अध्ययन गर्न वा भ्रमण तथा तालिममा सहभागी हुन जाने सरकारी कर्मचारीले समेत यस्तो राहदानी पाउँछन् ।

सर्भिस

अहिले नयाँ थप्न लागिएको यो पासपोर्ट विदेशस्थित नियोगमा खट्न जाने राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत, वा राजपत्रांकित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणाीबिहीन कर्मचारीले पाउँछन् ।

अस्थायी
विदेशमा रहेकाको राहदानी बहाल अवधि सकिएमा, हराएमा वा झुत्रो भएर प्रयोग गर्न नसकिने अवस्थामा कूटनीतिक नियोगमार्फत यस्तो अस्थायी राहदानी जारी गरिन्छ । यसका लागि आवश्यक काजगतसहित सम्बन्धित नियोगमा निवेदन दिनुपर्छ । नियोगले नौ महिना बहाल रहने गरी अस्थायी राहदानी जारी गर्छ । यो नयाँ राहदानी जारी भएपछि रद्द गरिन्छ । अवस्था हेरेर यस्तो पासपोर्ट जारी गरिन्छ ।

सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक)
पानीजहाजमा काम गर्न जाने नेपालीलाई विभागले यस्तो किसिमको राहदानी जारी गर्छ। साधारण राहदानीवाहकले पानीजहाजमा काम गर्न जाने प्रयोजनका लागि विभाग वा नियोगमा सिम्यान्स अभिलेख पासपोर्टका लागि आवेदन दिन सक्छन् । आवेदन आएमा तोकिएको शर्तको अधीनमा रही विभागले सिम्यान्स अभिलेख किताब जारी गर्छ । यसको बहाल अवधि निजको सेवाअवधि तथा उमेरलाई विचार गरी बढीमा दस वर्षको हुन्छ ।

साधारण (३४ र ६६ पृष्ठ)
विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्छ । यो जारी भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले लगिसक्नुपर्छ नभए विभागले रद्द गर्नेछ । पटक–पटक विदेशिनुपर्नेका लागि ६६ पृष्ठको र छोटो अवधिका लागि चाहिनेका लागि ३४ पृष्ठको साधारण राहदानी जारी गरिनेछ ।

प्रतिक्रिया