जनगणनामा ‘मनपरी प्रश्न सोधेको’ भन्दै आदिवासी जनजाति संगठनहरूद्वारा आपत्ति
अखबार टुडे
प्रकाशित:
२०७८, ३० कार्तिक

काठमाडौं, ३० कात्तिक । १२औँ राष्ट्रिय जनगणना गर्ने क्रममा गणकले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन् । मंगलबार तथ्यांक विभागको कार्यालयमा आदिवासी संगठनहरूले आपत्ति जनाउँदै ध्यानाकर्षण जनाएका हुन् ।

विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे ध्यानाकर्षण गराएका हुन् । उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले जनाउँदै सच्याउन आग्रह गरेका छन् ।
जात÷जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा र धर्मसँग सम्बन्धित महत्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकहरू आफैँले भरिदिएको जानकारी आएको भन्दै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्यसो नगर्न निर्देशन दिन आग्रह गरे ।
विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले भने गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कार्बाही हुने बताए ।

प्रतिक्रिया