
विराटनगर, ३० कात्तिक । प्रदेशका १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिएको थियो । सोहीअनुसार आज बैठक बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नभएपछि प्रस्ताव संसद बैठकमा टेबल हुनै नपाई बैठक स्थगित भएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले संसदमा प्रतिपक्षी दलको उपस्थिति नभएका कारण बैठक स्थगित गरेको जानकारी दिँदै बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । संसद नियमावलीमा कोही पनि प्रतिपक्षी दलका सांसद संसदमा उपस्थित नभए बैठक चल्न नसक्ने उल्लेख छ ।
एमालेले यसअघि नै आजको प्रदेश १ को बैठक स्थगित गर्न माग गरेको थियो । अधिवेशनका लागि जिल्ला गएका प्रदेशसभा सदस्यहरू आइनपुगेको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको हो ।
एमालेका प्रदेश १ का प्रमुख सचेतक बुद्धिराज राजभण्डारीले बन्दका कारण जिल्ला गएका प्रदेशसभा सदस्य आइनपुगेकाले बैठक स्थगित गर्न माग राख्दै संसद् सचिवालयमा पत्र दिएका थिए ।
