काठमाडौं, २९ कार्तिक । आईसीसी टी–२० विश्व कपको उपाधि अस्ट्रेलियाले जितेको छ । गए राति दुबईमा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई अस्ट्रेलियाल आठ विकेटले हराएको हो ।
न्युजिल्यान्डले दिएको एक सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले मात्रै दुई विकेट गुमाएर सात बलअघि नै भेटायो । अस्ट्रेलियाका लागि मिचेल मार्शले ७७ रन बनाएर । यस्तै डेभिड वार्नर ५३ रन र ग्लेन म्याक्सवेलले २८ रन बनाए । बलिङतर्फ ट्रेन्ट बोल्टले दुई विकेट लिए ।
यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ७२ रन बनायो । न्युजिल्यान्डका लागि कप्तान केन विलियमसनले ८५ रन बनाए । यस्तै मार्टिन गुप्टिलले २८ र ग्लेन फिलिप्सले १८ रन बनाए । बलिङतर्फ जोश हेजलवूडले तीन विकेट र एडम जम्पाले एक विकेट लिए ।
यस पटक टी–२० विश्व कपले नयाँ च्याम्पियन पाएको छ । फाइनल खेल अस्ट्रेलिया र न्युजिल्यान्डबीच तय भएसँगै टी–२० विश्व कपले नयाँ च्याम्पियन पाउने पक्का भएको थियो ।
पहिलो पटक टी–२० विश्वकप विजेता अस्ट्रेलियाले १७ लाख ६० हजार डलर पुरस्कार रकम हात पारेको छ । उपविजेता न्युजिल्यान्डले ९ लाख ६० हजार डलर हात पारेको छ । प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएको पाकिस्तानले ६ लाख डलर र इंग्ल्यान्डले ५ लाख ६० हजार डलर पाए ।