‘गीतसंगीतबाट म हराएकी छैन’
अखबार टुडे
प्रकाशित:
२०७८, २८ कार्तिक

‘डेढ दशकअघि एउटा पूर्वेली निकै गीत चर्चित थियो । ‘यो मनको रहर’ बोलको तिनै गीत लोकप्रिय भएपछि अनिला राई रहर पूरा गर्दै गायनमा सक्रिय भइन् । त्यसपछि लगातार तीन एल्बम ल्याएकी गायिका अनिला १७ वर्षदेखि बेलायत बस्दै आएकी छन् । बेलायतमा पनि उनी गायनमै सक्रिय छिन् । एल्बम निकाल्नैका लागि उनी बेलाबेला नेपाल आउँछिन् । तीन वर्ष नेपाल आएर अनिलाले ‘स्वरांकन’ नामक एल्बम प्रस्तुत गरिन् । उक्त एल्बमका केही गीत लोकप्रिय हुँदैगर्दा नेपाली फिल्म ‘वीर विक्रम’को ‘टलटल टल्कियो’ बोलको गीत गाउने अवसर पाइन् । जुन गीत ब्लकबस्टर बन्यो । अहिलेसम्म उक्त गीतको भिडियोलाई युट्युबमा करिब डेढ करोडले हेरिसकेका छन् । अहिले अनिला एकसाथ सात वटा गीत ल्याउने तयारी गर्दैछिन् ।

गीतसंगीत क्षेत्रमा नयाँ के गर्दै हुनुहुन्छ ?

नयाँ गीतहरु तयार गर्दैछु । नेपाल आएर सार्वजनिक गरौँ भनेको कोभिडले गर्दा नेपाल आउन पाएको छैन । दुईवटा गीत ल्याउने सोच थियो, तर सात वटा तयारी भइसकेको छ । कोभिडले समयमा आउन नपाउँदा गीतको संख्या पनि बढेको हो ।

कोभिड महामारीको समयमा पनि गीत रेकर्डिङ गर्ने काम भयो ?

कोभिड महामारीको समयमा पनि गायनलाई निरन्तरता दिइरहेँ । स्टेज कार्यक्रम मात्र ठप्प भएको छ । अरु काम भइरहेकै छ । अझैपनि युकेमा कोभिड उस्तै छ । तैपनि यहाँका मान्छेहरु कोभिडबाट त्रसित नै हुन छाडे । संक्रमित बढिरहेको भएपनि यहाँका मान्छेले माक्स नै लगाउँन छाडे । म चाहिँ लगाउँछु है ।

तपाइँलाई व्यक्तिगत रुपमा कोभिडको प्रभाव परेन ?

प्रभाव त प¥यो नि । मलाई कोभिड भएको थियो । कोभिड नभएको भए नेपाल आएर गीत सार्वजनिक गरिसक्थेँ । मेरो नेपाल आउने योजना यही कोभिडले रोक्यो । आफूलाई कोभिड नभएसम्म केही होइनजस्तो लाग्ने, तर कोभिड भन्ने भाइरस खतरा रहेछ । अहिलेभन्दा सुरुको कोभिड संक्रमण कडा । अहिलेको कोभिड नर्मल हुन थालेको छ ।

नेपालमा अनिला राई हराइन् भन्ने पनि सुनिन थालेको छ । हराउनुभएको हो ?

दर्शक तथा श्रोताले खोजी गर्नु भनेको त राम्रो हो नि । तर, म हराएकी छैन । दर्शक तथा श्रोताले हराइन् भन्लान् भनेरै एक वर्षअघि नै नेपाल आउने योजना बनाएकी थिएँ । यदि कोभिड नभएको भए आउथेँ पनि । तर, अब चाँडै नेपाल आएर मेरो नयाँ गीतहरु सार्वजनिक गर्नेछु ।

गीतसंगीतकै लागिमात्र नेपाल आउने योजना बनाउनुभएको हो ?

गीतसंगीतको लागि मात्रचाहिँ होइन । तर, पहिलो प्राथमिकतामा गीतसंगीतलाई राखेकी छु । त्यसपछि पारिवार तथा साथीभाइ भेटघाट गर्नका लागि पनि नेपाल आउन लागेकी हुँ ।

तपाइँको युके बसाइ कति भयो ?

एउटा जुग नै हुन लाग्यो । ठ्याक्कै १७ वर्ष भयो । त्यसबीचमा केही पटक नेपाल आउने जाने भएको छ । गीतसंगीतले गर्दा पनि मेरो नेपाल आउ–जाउ भइरहेको हुन्छ ।

गीतसंगीतमा परिवारबाट सर्पोट कस्तो छ ?

सर्पोट नै त के भन्नु । मेरो डृढताले गर्दा हो । मेरो रहर र डृढतामा रोकतोकचाहिँ हुन्न । त्यही कारण गीतसंगीतलाई निरन्तरता दिँदै आएकी छु ।

पछिल्लो समय टिकटकमा निकै देखिनुहुन्छ नि ?

कोभिडकै समयमा रमाइलो गर्न टिकटिक बनाउन सुरु गरेकी हुँ । तर, अहिले त टिकटक नशा नै भइसक्यो । त्यसैले फुर्सद हुनेविीत्तकै टिकटक बनाउँछु । म प्राय आफ्नै गीतमा टिकटक बनाउने गरेकी छु । गीतसंगीत प्रचारको बलियो माध्यम बनेको छ टिकटक ।

तपाइँ गायनबाहेक नाच्न पनि सौखिन हो ?

हो नि । सानो हुँदा खुबै नाच्थेँ । गाउन र नाच्नु भनेपछि त हुरुक्कै हुन्थेँ । अहिले पनि मलाई नाच्न मनपर्छ ।

प्रतिक्रिया