मदिरा सेवन गरेर फर्कनेक्रममा दुर्घटना हुँदा चार जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७८, २८ कार्तिक

रौतहट, २८ कात्तिक । गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत झुनखुनवा चोकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चोकनजिक गएराती अनियन्त्रित भएर कार दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै प्रहरीले कारमा सवार चारै जनालाई उद्वार गरि तत्कालै उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाँदा डाक्टरले सबैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

भारतको बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतिय बजारका मानिसहरु मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्दछन् । चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारततर्फ फर्किनेक्रममा उक्त दुर्घटना भएको हुनसक्ने स्थानीयहरुले अनुमान गरेका छन् ।

प्रतिक्रिया