आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै
अखबार टुडे
प्रकाशित:
२०७८, २८ कार्तिक

काठमााडौं, २८ कात्तिक । आजदेखि कोरोनाविरुद्धको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ । कार्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने भएको हो ।

यो खोप पहिलो मात्रा लगाएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्नेछ । त्यसैले दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइनेछ । कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालले जानकारी दिए ।

उक्त खोप काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी जम्मा २४ वटा अस्पतालका खोप केन्द्रमा लगाइने भएको छ । उनका अनुसार फाइजर खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखेर मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोगस्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पुर्जा अनिवार्य रुपमा लैजानुपर्ने छ । फाइजर खोप भायलमा उपलब्ध हुने भएकाले बाक्लो झोलको रुपमा रहने छ ।

फाइजर खोप लगाउनुभन्दा पहिला घोल्नुपर्छ । घोलेपछि एक भायलमा ६ मात्रा हुने उनको भनाइ छ । त्यसैले फाइजर खोप लगाउन जाँदा कोरोनाविरुद्धको अन्य खोप लगाउनभन्दा बढी समय लाग्नसक्ने पनि उनले बताए ।

प्रतिक्रिया